सोसल मिडिया
युनिकोड
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।
यता, सिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाउने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार आज धोती दिवस मनाउन लागिएको सो पार्टीले जनाएको छ ।
पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको छ।
पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको छ । मधेसको मौलिकता धोतीमा झल्किने भन्दै जनमतले धोती दिवसको रूपमा मनाउने गरेको छ ।