ओलीले विद्यासँग दुई घण्टा कानेखुसी गर्दा कांग्रेसी मन्त्रीले चार घण्टासम्म के गरे ?

धपेडीमा ओली
बिहीबार, पुस १८, २०८१

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अरू दिन भन्दा आज पुस १८ गते ज्यादा धपेडीमा देखिए। प्रधानमन्त्रीको हैसियतमा गर्नु पर्ने नियमित कामको चाप त यसै छँदै थियो अर्कातिर पार्टी सचिवालयको बैठक पनि भ्याउनु पर्ने थियो। 

त्यहि बीचमा उनले आजै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु पर्ने बाध्यता पनि आईलाग्यो।पार्टी राजनीतिमा सक्रियता बढाउँदै गएकी पूर्वउपाध्यक्ष भण्डारीलाई उनको बुढानीलकण्ठस्थित निवासमै गएर ओलीले भेटेका छन्। 

दुई  घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ। स्रोतअनुसार, पूर्वराष्ट्रपति भण्डारी ओलीका हालैका गतिविधिप्रति असन्तुष्ट छिन्। एमाले नेताहरूमाथिको कारबाहीमा पनि उनको असहमति छ। 

ओलीले पार्टीमा एकता कायम गर्न नसकेको र उनले नेतृत्व लिएपछि संगठनमा निराशा एवं क्षयीकरण बढेको उनको बुझाइ छ। यसैकारण उनले पार्टीनिकट विभिन्न मञ्चमा उपस्थिति बढाउँदै गएकी छन्।

ओलीकै विश्वासपात्रका रूपमा काम गरेका नेताहरू भण्डारीसँग निकट भएर काम गरिरहेका छन्। यसप्रति असन्तुष्ट जनाउँदै ओलीले केही साताअघि पार्टीको कार्यक्रममा पूर्वराष्ट्रपतिकहाँ गएर गल हाल्ने काम नगर्न चेतावनी दिएका थिए। 

एमालेको अघिल्लो सचिवालयको बैठकले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टी बाटै गलहत्याएपछि रावलले हिजै मात्र ओलीलाई ७४ थान लाञ्छना लगाएका थिए। रावल पड्किएको भोलि पल्टै ओली सारा काम थाती राखेर हतारमा भण्डारी भेट्न पुग्नुको खास अर्थ रहेको एमालेकै नेताको दाबी छ। 

प्रधानमन्त्री ओलीले आज बोलाईनु पर्ने नियमित मन्त्रिपरिषदको बैठक पनि डाकेनन्। अर्कातिर दल विभाजन सम्बन्धि अध्यादेश घर्रामा हालेर बसेका ओलीकांग्रेस सभापति शेरबहादुर देउवाको ग्रिन सिग्नलको पर्खाईमा छन्। सरकारले परिणाममुखी काम नगरेको भन्दै कांग्रेसका नेता ओली सरकारको आलोचना गर्न थालेका छन्। आज चार घण्टा सम्म कांग्रेसका भएभरका मन्त्री शहरी विकास मन्त्रालयमा छलफलमा जुटेका थिए। 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्