सोसल मिडिया
युनिकोड
खप्परमै लेखेको छ भने कसैले तगारो हालेका भरमा रोकिन्न भन्ने नेपाली उक्ति सँग मेल खाने प्रसङ्गहरू बेलाबखत देखा पर्छन। हो त्यस्तै प्रसङ्गले यतिबेला निजामति क्षेत्रमा ठाउँ पाएको छ।
केही दिन अघि मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षमता मूल्याङ्कनद्वारा हुने सहसचिवको बढुवा सिफारिसमा परेका उपसचिवहरूको नाम सार्वजनिक गर्यो। जसमा उपसचिवहरू शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही पनि अटाए। यदि उपसचिवहरू महेश भट्टराई, किशोरकुमार चौधरी, धर्मेन्द्रकुमार मिश्र र बाबुराम गौतमले लोकसेवाले लिएको सहसचिवको परिक्षा पास नगरेको भए उनीहरु बढुवा सिफारिसमा अट्ने थिएनन्। तर, ती चार जनाले लेखेरै सहसचिवमा नाम निकालेपछि शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाहीको खुँदो पल्टिएको हो।
उपसचिवहरू महेश भट्टराई, किशोरकुमार चौधरी, धर्मेन्द्रकुमार मिश्र र बाबुराम गौतम लेखेर सहसचिव बनेपछि उनीहरुभन्दा कनिष्ठ चौधरी, पोखरेल, श्रेष्ठ र शाहीले बढुवामा अभूतपूर्व अवसर पाएका हुन्। भट्टराई, मिश्र र गौतम २०७७ असारमा एकै दिन आन्तरिक प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सहसचिव भएका थिए। चौधरी भने त्यो भन्दा अगाडि २०७५ फागुनमा कानुन समूह तर्फको सहसचिव भएका हुन्।
महेश भट्टराई भट्टराई २०६७ चैत २७ गते उपसचिवमा नियुक्त भएका थिए। शुक्रबार कार्यक्षमता मूल्याङ्कनद्वारा सहसचिव बढुवाका लागि सिफारिस भएका प्रेमप्रसाद लुईंटेल रामदत्त पाण्डे, विनिता भट्टराई, लक्ष्मी पाण्डे गौतम र मनिता श्रेष्ठ उपसचिवमा भट्टराई कै ‘ब्याची’ हुन्। उनीहरु सामान्य प्रशासन समूहका उपसचिवमा एकै दिन नियुक्त भएका थिए।
किशोरकुमार चौधरी २०६७ साल चैत ३० गते सामान्य प्रशासन समूह कै उपसचिवमा नियुक्त भएका थिए। धर्मेन्द्रकुमार मिश्र र बाबुराम गौतम क्रमश: २०६८ वैशाख २० र २१ गते राजस्व समूहका उपसचिव भएका थिए।
भट्टराई र चौधरी लेखेर सहसचिव बन्दा उनीहरूभन्दा एक वर्ष पछाडि र मिश्र र गौतमभन्दा डेढ महिना अगाडिका उपसचिवहरूले अहिले सहसचिवमा बढुवा हुने ‘चान्स’ पाएका हुन्। सहसचिवमा बढुवाका लागि सिफारिस हुने शिवप्रसाद चौधरी २०६८ चैत ३ मा लेखा समूहका उपसचिव हुन्। दिव्यराज पोखरेल पनि त्यहिँ दिन राजस्व समूहका उपसचिव भएको देखिन्छ। पूर्णबहादुर श्रेष्ठ र कृष्णबहादुर शाही पनि २०६८ चैत ३ गते नै सामान्य प्रशासन समूहको उपसचिव भएका थिए। सहसचिव भएपनि श्रेष्ठले अब ६ महिना जति मात्र सरकारी सेवामा काम गर्न पाउँछन्।
आफूहरू भन्दा बरिष्ठ चार जना उपसचिवले सहसचिवको जाँच पास गरिदिनाले सबै भन्दा फाईदा पूर्णबहादुर श्रेष्ठलाई भएको छ। उनी छ महिना सहसचिव बन्न पाउने भएका छन्। यदि आफू त्यसो नभएको हुन्थ्यो त श्रेष्ठ उपसचिव बाटै घर जानु पर्थ्यो। उनको बढुवाको पालो आउन अर्को एक वर्ष कुर्नु पर्थ्यो जबकी उनको अवकाशको समय छ महिना मात्रै बाँकी छ।