एमाले र माओवादी केन्द्रको जारी केन्द्रीय कमिटि बैठकमा मिले यी तीन कुरा

सोमबार, पुस २२, २०८१

मुलुकका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले एकैदिन पुस २१ गते आईतबारबाट केन्द्रीय कमिटिको बैठक गरिरहेका छन्।  एक अर्काका परस्पर विरोधी यी दुई पार्टीले एकैदिन बैठक राख्नुलाई संयोग मिलेको भनेका छन्।  तर दुवै पार्टीका बैठकमा केही समानता देखिएको छ। 

एमालेको बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ भने माओवादीले धुम्बाराहीको स्मार्ट दरबार पार्टी प्यालेसमा बैठक राखेको छ। एमालेले कुनै बेला भाडामा राखेको धुम्बाराहीको पुरानो कार्यालय नजिकै माओवादी आगामी बाटो खोज्दैछ।  दैनिक एक लाख भाडा तिरेर माओवादी विचार मन्थन गर्दैछ। दुवै पार्टीका अध्यक्षले बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेश गरेका थिए। अध्यक्षको प्रतिवेदन उपर दुनै पार्टीका सदस्यले आफ्नो धारणा आजको बैठकमा राखिरहेका छन्। 

एमालेका केही सदस्यले हिजै बाट धारणा राख्न थालेका छन्। जसका लागि तीन मिनेट समय उपलब्ध गराईएको छ।  यता, माओवादीले पनि आफ्ना केन्द्रीय सदस्यलाई एमालेले जस्तै तीन मिनेट नै समय उपलब्ध गराएको छ। दुवै पार्टीका बैठक ११ बजे बाटै शुरु भएको छ। 

माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक व्यक्तिलाई तीन मिनेटको समय निर्धारण गरिएको छ ।

हिजो आइतबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा बसिरहेको छ । हिजाको बैठकमा प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए ।

उक्त प्रतिवेदनमाथि आज र भोलि छलफल हुने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । छलफल पश्चात् आएका सुझावको जवाफ अध्यक्ष प्रचण्डले पुस २४ गते दिएपछि बैठक समापन गरिने उनले जानकारी दिए । 

यता, ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बसेको  बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहेको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘आइतबार आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले आज प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहनु भएको छ,’ उनले भने, ‘त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।’ केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिईएको छ। 

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

एमाले र माओवादीले एकैदिन हिजैदेखि केन्द्रीय कमिटिको बैठक गरिरहेका छन्।  समय पनि दुबैको ११ बजे बाटै चलिरहेको छ। केन्दीय सदस्यलाई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राख्न दुवै पार्टीले तीन मिनेटको समय उपलब्ध गराएका छन्। 

 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्