गृह मन्त्रालयको प्रवक्तामा तिवारी बन्धुको आलोपालो, ऋषिराम गए रामचन्द्र आए

बुधबार, पुस २४, २०८१

गृहमन्त्री रमेश लेखकले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीलाई तोकेका छन्। सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट हालै गृह मन्त्रालयमा सरुवा गरिएका तिवारीले आज उक्त जिम्मेवारी पाएका हुन्। 

गृह मन्त्रालयले सोमबार मात्र मन्त्रालयका १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको थियो। यस अघि मन्त्रालयको प्रवक्ता सहसचिव ऋषिराम तिवारी थिए। उनको पनि सोमबारै सरुवा भएको थियो।  शैक्षिक योग्यताको प्रमाणपत्रमा खोट भएको भनिएका काठमान्डूका सिडिओ जयनारायण आचार्यलाई विस्थापित गर्दै ऋषिराम काठमान्डूको सिडिओ बनेका छन्। 

गृह प्रवक्ताको जिम्मेवारीमा रहेका एक तिवारीलाई सिडिओ बनाएर सिडिओ नै रहेका अर्का तिवारीलाई मन्त्री लेखकले प्रवक्ताको जिम्मा दिएका हुन्। ताक परे तिवारी नत्र गोतामे भन्ने उखान मन्त्रीलाई मन परेको भएरै सो काम भएको गृहकै एक सहसचिवले टिप्पणी गरेका छन्। 

सुनसरी बाट ल्याईएका तिवारीलाई मन्त्रालयमा सुरक्षा समन्वय माहाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ। मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइने गरिएको छ। अर्को साताबाट तिवारीले जिम्मेवारी सम्हाल्ने मन्त्रालयले बताएको छ। 

सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा उनले ७ महिना काम गरे। यसअघि उनले वाणिज्य मन्त्रालयमा दुईपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा र उद्योग विभागको महानिर्देशकका रूपमा पनि काम गरिसकाे छन्। 

त्यसअघि भने तिवारी गृह मन्त्रालय मातहत नै कार्यरत थिए। यसअघि मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेका उनले अध्यागमन विभाग र कारागार व्यवस्थापन विभागको पनि जिम्मेवारी निर्वाह गरिसकेका छन्। 

गत सोमबार गृह मन्त्रालयका १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको थियो। जसमा ७ जना प्रमुख जिल्ला अधिकारी पनि छन्। तिवारी गृह मन्त्रालयमा आएसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्र कुमार मिश्रलाई पठाइएको छ। काठमाडौँको सिडिओ भएको छोटो समयमै तानिएका आचार्यको भने मन्त्रालयमा सरुवा भएको छ। 
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्