उर्जा मन्त्री खड्कालाई लफडाको घुम्टो, ठेक्का रद्द भएपछी हाईसन्चो !

उधिन्दै अख्तियार
बुधबार, पुस २४, २०८१

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का केही दिन यता चरम विवादमा छन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग संगको खटपटले त यसै विवादमा थिए नै त्यो भन्दा जडी विवादले उनलाई घुम्टो हालेको छ। 

उर्जा मन्त्रीलाई त्यसरी घुम्टो हाल्ने विवाद भनेकै डोल्पामा अवस्थित जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का हो। सेटिङमा निकालिएको ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएछि उक्त जलविद्युत् आयोजनाको ठेक्का एकाएक रद्द गरेर विवाद मथ्थर पार्ने प्रयास भएको छ। 

ऊर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणको समेत लगानी भएको आयोजनामा मिलोमतो भएको तथ्य बाहिरिएपछि जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले ठेक्का नै रद्द गरेको हो। आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी ७ अर्ब स्वपूँजी हुने जनाइएको छ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको सूचनामा सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेक्का रद्द भएको जनाएको छ। गत जेठ २० गते आह्वान भएको १६ अर्बको ठेक्कामा ६ वटा कम्पनीले आवेदन दिए पनि ऊर्जामन्त्री खड्काको अग्रसरतामा हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीलाई ठेक्का दिलाउने गरी सेटिङ गरेको आरोप लागेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई जसरी पनि हटाउन लागी परेका खड्का आफैँ अर्बौको ठेक्का मिलोमतो गरेको अभियोगमा छानबिनमा परेका छन्।

स्रोतका अनुसार १६ अर्बको ठेक्कामा मन्त्री खड्काले आफूलाई दुई प्रतिशत र प्रस्पिर्धामा सहभागी बाँकी चारवटा कम्पनीलाई एक/एक प्रतिशत कमिसन बापतको चेक दिएर ठेक्का सेटिङ गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि प्राविधिक कारण देखाएर हतारहतार ठेक्का रद्द गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जारी गरेको विज्ञप्तिमा भने प्राविधिक कारण भएको दाबी गरिएको छ।

उनले जारी गरेको सूचनामा भनिएको छ, ‘यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ठेक्का आह्वान गर्नुपर्ने र उक्त स्तरको ठेक्का मूल्यांकन गर्नुपर्ने कार्य आफैमा संवेदनशील विषय हो, ठेक्का मूल्यांकन क्रममा सार्वजनिक खरीद ऐन, कम्पनीको खरिद विनियमावली र स्टाण्र्डर विडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्यांकन गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिक रुपमा असफल भएकाले ठेक्का रद्द गरिएको स्पष्ट पार्न चाहन्छौँ।’

अर्ध जलासययुद्ध जगदुल्ला जलविद्युत् आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला भएर बग्ने जगदुल्ला नदीमा बनाउने योजना अघि सारिएको छ।

जगदुल्ला- २ हुरिकोटमा जलाशय निर्माण भई ६.२ किलोमिटर सुरुङबाट पानी लगिनेछ। तीनवटा टरवाइनमार्फत् विद्युत् उत्पादन हुने आयोजना निर्माणका लागि बाटो लगायका संरचनाहरु कर्णाली प्रदेश सरकारसमेतको अग्रसरतामा निर्माण भइरहेको छ। ठेक्का आह्वान हुँदा २०८६ भित्र पूरा गर्ने लक्ष्य राखिए पनि अब रद्द भएकाले अनिश्चित भएको छ।

छानबिनमा परेपछि ठेक्का रद्द भएको समाचार सार्वजनिक भएपछि कम्पनीले मन्त्री खड्को बचाउ गरेको छ। जदुल्ला कम्पनीमा ऊर्जामन्त्री प्रत्यक्ष रुपमा संलग्न नहुने भएकाले उनलाई जाडेर आएको समाचार तथ्यहीन भएको कार्यकारी सापकोटाको भनाइ छ।

उनले भनेका छन्, ‘यस कम्पनीको सञ्चालक समितिमा मन्त्रीज्यू संलग्न हुने कुनै कानूनी व्यवस्था छैन, साथै, मन्त्रालय र माननीय मन्त्रीज्यूको निर्देशन तथा सुझाव लिनुपर्ने बाध्यात्मक व्यवस्था समेत छैन, यस कम्पनीले आह्वान गरेको ठेक्का प्रक्रियामा माननीय मन्त्रीज्यूले कुनै चासो राख्नुभएको वा कुनै निर्देशन दिनुभएको छैन।’
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्