रवि छुट्ने कि जेल जाने ? यी दुई जनाको बहस सुनेपछि न्यायाधिशले आदेश दिने

बुधबार, पुस २४, २०८१

पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले बिहीबार आदेश दिने सम्भावना छ।

हाल अदालतमा उपस्थित गराइएका ७ जना प्रतिवादीहरुको तर्फबाट वकिलहरुको बहस बुधबारदेखि सकिएको छ। बुधबार नै जाहेरवालाका तर्फबाट पनि जवाफी बहस भयो भने अब सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस मात्र हुन बाँकी छ।

प्रतिवादीका तर्फबाट कानून व्यवसायीको बहस सकिएसँगै जाहेरवाला तथा सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्ने व्यवस्था छ।

अब बहस अन्त्यमा पुग्दा पूर्वगृहमन्त्री एवं रास्वपाका निलम्बित सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, पूर्वसांसद मीना गुरुङसमेतका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमै रिहा गर्ने भन्ने आदेशबारे सबैको चासोको विषय छ।

कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले भने, ‘अब भोलि (बिहीबार) सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ। सम्वतः भोलि (बिहीबार) नै थुनछेक आदेश आउला।’

श्रेस्तेदार खनालको अनुमान नमिले अन्ततः शुक्रबारसम्म न्यायाधीश नीतिज राईको इजलासले आदेश सुनाउने छ। बहुचर्चित सहकारी ठगी काण्ड पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर भएको छ।

गत वर्ष १८ असोज, २०८० मा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकामा यस वर्ष गत ५ र ७ पुसमा लामिछाने, पूर्व डीआइजी जोशी समेतलाई प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो।

ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो मागदाबी छ। हाल अदालतमा उपस्थित गराइएका प्रतिवादीहरुमा लामिछाने, जोशी, लीला पछाईं, मीना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङ हुन्।

बुधबार प्रतिवादीहरुमध्ये रामबहादुर खनालका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा, अधिवक्ता मोहनबहादुर थापाले बहस गरे। कृष्णबहादुर गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता हरि सुवेदी र अधिवक्ता गंगाप्रसाद सुवेदीले बहस गरेका थिए।

अर्का प्रतिवादी पूर्वसांसद मीना गुरुङ र आरती गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रबहादुर थापामगर र अधिवक्ता मनोज घर्तीमगरले बहस गरे।

प्रतिवादीका तर्फबाट कानून व्यवसायीको बहस सकिएपछि जाहेरवालाका तर्फबाट रमणकुमार कर्ण, राम श्रीश, वेदबहादुर (बीबी) विष्टले जवाफी बहस गरेको स्रेस्तेदार खनालले जानकारी दिए।

बिहीबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेसँगै अदालतले थुनछेक आदेश दिनेछ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्