सङ्गठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

बिहीबार, पुस २५, २०८१

मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा सङ्गठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दर्ता भएको छ ।

साथै, झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीविरुद्ध पनि मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रसाईंलाई विद्युतीय् कारोबार ऐन विपरीतको कसुरमा पक्राउ परेर अनुसन्धान गरिरहेका बेला उनीहरुले विभिन्न व्यक्तिलाई धम्क्याउने गरेको पाइएको थियो ।

फुयाँललाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । उनले प्रसाईंकै योजना र आदेशबमोजिम आफूले विभिन्न व्यक्तिलाई धम्क्याएको बयान दिएका छन् ।

प्रसाईं र उनको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेतलाई धम्क्याएको अडिओ अदालतमा पेस भएको छ । त्यसबाहेक अन्य व्यवसायीको समेत निवेदन परेको सीआईबीले जनाएको छ ।

भारतका चर्चित ग्याङस्टार लरेन्स बिश्नोइको ग्याङको सदस्य भन्दै विभिन्न व्ययवासीलाई धम्की आएको थियो । त्यसरी फोन गर्ने व्यक्ति फुयाँल नै भएको पाइएको छ ।

अदालतमा पेस भएको अभियोगपत्रमा प्रसाईंले पाँच लाख दिएकोबारे बोलेको अडिओ पनि समावेश भएको छ ।

उनीहरुले भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिने गर्दथे ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्