प्रचण्ड र माधवको झाङ्गियो मायापिरती, दिनहुँ किन भेट्न थाले ?

शुक्रबार, पुस २६, २०८१

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचको हिमचिम ह्वात्तै बढेको छ।  पछिल्ला दिनमा यी दुई पार्टी अध्यक्षको दिनहुँ बातचित हुन थालेको हो। 

हिजो बिहिबार पनि दुई पूर्व प्रधानमन्त्रीले लामै गफ गरे। आज दिउँसो ३ बजे माओवादी संसदीय दलको कार्यालयमा भेट्ने तय गरेका छन्।  पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश अघि बढाउन लागेपछि दुई नेताबीच भेटवार्ता बाक्लिएको हो । ओलीको निशानामा माधव परेका छन् भने माधवलाई प्रचण्डले सहयोग गर्ने बचन दिएका छन्। 

संविधान संशोधनको सवालमा समाजवादी मोर्चालाई सक्रिय बनाउन प्रचण्ड जुटेका छन्। तर उनको उपेन्द्र यादव संग सम्बन्ध राम्रो छैन। उपेन्द्र फकाउने जिम्मा प्रचण्डले माधवलाई दिएको बुझिएको छ।  

अर्का तिर माधवको पार्टी फुटाउन ओली ज्यान फालेर लागेका छन्।   प्रधानमन्त्री ओलीले आजै साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । त्यसअघि नै दुई नेता सम्वादमा जुट्न लागेका हुन् । राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन ओलीलाई रहर लागेको लागेकै छ। 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्