सोसल मिडिया
युनिकोड
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ प्रशासक हुमकला पाण्डेलाई समर्पण गर्ने निर्णय गरेको छ। शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले पाण्डेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
अर्घाखाँची जिल्लाबाट राष्ट्रिय प्रतिभा बन्न सफल पाण्डे निजामती सेवातर्फ राजपत्राङ्कित प्रथम श्रेणीमा कार्यरत छिन्। गुल्मी, भक्तपुर, काभ्रे र सुनसरीमा प्रमुख जिल्ला अधिकारीका रूपमा सफलतापूर्वक कार्यसम्पादन गरेकी पाण्डेले गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेकी छिन्।
निजामती सेवामा प्रवेश गर्नुअघि शिक्षण सेवामा रहेकी सहसचिव पाण्डे साहित्यमा पनि उत्तिकै उम्दा छिन्। शब्दयात्रा प्रकाशनले माघ महिना भित्रै विशेष समारोहका साथ पुरस्कार समर्पण गर्ने बताएको छ।
प्रशासनिक क्षेत्रमा रहेकी र अन्य विधामा पनि योगदान गर्ने महिला प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले उक्त पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरेको प्रकाशनले जनाएको छ। पाण्डे अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव छिन्।