रवि लामिछानेलाई थुनामा पठाउने वा छाड्ने भन्नेबारे थुनछेक बहस सुरु

सोमबार, पुस २९, २०८१

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने वा छाड्ने भन्नेबारे थुनछेक बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पहिले सरकारी वकिलले बहस सुरु गरेका हुन् । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जाहेरवालाहरूको तर्फबाट बहस सुरु गरेका छन् ।

लामिछानेका विरुद्ध ११ जना सरकारी वकिलले बहस गर्दैछन् । जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस सकेपछि लामिछाने पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । उनको पक्षमा पूर्व महान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोगपत्र दायर भएपछि लामिछाने आइतबार आफैं अदालतमा हाजिर भएका हुन् । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी सहकारीबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्