सोसल मिडिया
युनिकोड
काठमाडौँ महानगरपालिकामा बालेन्द्र साह मेयर निर्वाचित भए यता छर जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। उनी मेयर निर्वाचित हुँदा लोकनाथ पौडेल प्रमुख प्रशासकीय अधिकृत थिए। मेयर सँग कुरा नमिलेपछि पौडेलले धेरै समय महानगरमा काम गर्न सकेनन्। पौडेलपछि बसन्त अधिकारी पुगे। उनी त झन् टिक्नै सकेनन्। कर्मचारी भर्तीमा मनोमानी गरेपछि उनलाई मेयर साहले लखेटे। कति सम्म भने उनलाई त थुन्न भन्दै मेयर साहले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै गुहारे।
अधिकारीपछि बालेनले आफ्नै उमेर समुहका सहसचिव प्रदीप परियारलाई महानगरमा भित्र्याए। तर, परियारको बसाई पनि लामो भएन। उनी पनि टिक्न सकेनन्। भलै, मेयर र परियारको लफडा चाँही बाहिर आएन। बेलैमा आफ्नो करियर सुरक्षित राख्दै परियार आफैले टाप कसे। परियारपछि पुगेका सरोज गुरागाईं त झन् कम समयमै लफडाको भूमरीमै जाकिए। चानचुन तीन महिनामै उनी अपमानित ढंगले महानगरबाट अलग्गिएका छन्। बालेन सँग काम गर्न पाँचौ कार्यकारी को हुने हो त्यो महानगरका लागि चासोको विषय बनेको छ।
पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपु¥याई पास गरेको भन्दै प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्न समिति बनाएपछि गुरागाईको महानगर बसाई सकिएको हो।
छानबिन समिति बनेपछि उनी बिदामा बसे । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिदामा बसेपछि गोविन्दप्रसाद शर्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । तर, उनले पनि राजीनामा दिएपछि अहिले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर यतिबेला ठप्प जस्तै छ। प्रशासनिक काम र आर्थिक काम लगभग ठप्प भएको महानगरको भनाई छ।
यता, मेयर बालेन साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् । उनले पत्र पठाए पनि महानगर जान सहसचिव तयार भएकै छैनन्। मेयर साहको अड्डामा काम गर्न जान तयार सहसचिव नभेटेपछि सामान्यले कसलाई खटाउने हो अन्योल परेको छ।
यही पुस २४ गते चलानी नम्बर ४५० रहेको मेयर बालेनले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘प्रस्तुत विषयमा काठमाडौं महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ वमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ ।’
बालेनको पत्र सामान्य मन्त्रालयका सहसचिव बलराम रिज्यालको घर्रामा थन्किएको सामान्य श्रोतको भनाई छ।