निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेर उतै फर्किए राष्ट्रपति

सोमबार, पुस २९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । शितलनिवास देखि सिंहदरबार पुगेका  राष्ट्रपतिउतै फर्किएका छन्। 

राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । सहरी विकास मन्त्री प्रकाशमान सिङ्ग भने बिरामी भएर घरमै आराम गरिरहेका छन्। 

संघीय संसद्‌का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण गरिएको छ । १ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रियसभा रहनेछ ।

सङ्घीय संसद् भवन नहुँदा विसं २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्