विद्युत् सबस्टेसन र टावरको काम रोक्ने १३ जना पुलिसले खोरमा हुल्यो

शुक्रबार, माघ ४, २०८१

काठमाडौंको शंखरापुर नगरपालिका– ३ लप्सीफेंदीका १३ जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीयको प्रहरीसँग गएराति झडप भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

झडपमा संलग्न भएको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई छाडेको छ । १३ जना बौद्ध प्रहरीको हिरासतमा छन् । काममा अवरोध गरेकाले १३ जनालाई हिरासतमा लिइएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

सबस्टेसन र टावर निर्माणका लागि विहीबार बिहान करिब ११ बजे डोजर पुग्दा स्थानीयले ढुंगा प्रहार गरेर अवरोध गरेका थिए । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रोक्ने क्रममा तनाव सुरु भएको थियो । प्रहरीले विहीबार राति नौ बजेसम्म पनि धरपकड गरेको स्थानीयको आरोप छ ।

प्राधिकरणले बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि सबस्टेसन निर्माण गर्न लागेको छ ।
बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग छ । सोही विषयलाई लिएर लप्सीफेंदीमा बेला बेला स्थानीय र सुरक्षाकर्मीबीच झडप हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्