छोरी देख्दा प्रधानमन्त्री ओलीलाई असहज, शोभाका पछि आधा दर्जन पुलिस

शुक्रबार, माघ ४, २०८१

एमाले नेता महेश बस्नेतसँग नाम जोडिएर पटक-पटक हिरासत पुगेकी शोभा पाठकका कारण आज राजधानीको पाँच तारे होटल मेरियटमा सुरक्षाकर्मीको कुदाकुदै चल्यो। पाठकलाई एकाध घण्टा आधा दर्जन प्रहरीले छोड्दै छोडेनन्। 

शोभाको सुरक्षाका लागि प्रहरी तैनाथ भएको चाँही होइन। उक्त होटलमा आयोजित एक कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी ओली थिए। 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका ओलीकै इशारामा प्रहरीले पाठक माथि निगरानी बढाएको थियो। स्वयम् प्रधानमन्त्री ओलीले पाठकलाई चिन्छन्।  महेश बस्नेतले श्रीमती बनाएको दाबी सहित उजुरबाजुरकै तहमा उत्रिएर हमेशा अन्यायमा पारेको भन्दै शोभा आवाज उठाई रहेकी छिन्। 

महेश र शोभाबीचको लफडाको जानकारी प्रधानमन्त्री ओलीलाई पूरापूर थाहा छ। कति पटक त ओलीकै समन्वयमा कुरा भएको पनि सार्वजनिक भईसकेको छ। ओलीले शोभा एक्लैलाई बोलाएर पनि साबिती बयान लिएका थिए। तर, आफूले ओलीकै कारण न्याय नपाएको भन्दै प्रधानमन्त्री प्रति शोभा झन् आक्रामक छिन्। यो सबै बुझेका ओलीले कार्यक्रममा शोभा देखेपछि प्रहरीले उनलाई चुईक्क गर्न नदिने गरि सुरक्षा दस्ता बढाएको हो। 

ओली पहिले पटक प्रधानमन्त्री बन्दा मेघराज नेपाली निषाद राज्यमन्त्री थिए। निसादले छोरी सम्बोधन गर्ने शोभा उनकै सचिवालयमा काम गर्थिन। निषाद सँगको सम्बन्धले शोभाले ओली सँग चिनजान गर्ने अवसर पाईन। अझ पछि एमाले नै प्रवेश गरेपछि ओलीले पनि उनलाई ठाउँ दिए। केपी बाले उनलाई छोरी भनेरै बोलाउँने गर्थे। तर आज तिनै छोरीका कारण केही असहज महसुस गरेको छनक पाईएको छ। 

फ्याट्टै बोलिहाल्ने स्वभाबकी शोभाले केही अवान्छित गतिविधि गर्ने भयले उनलाई प्रहरीले ढिम्किनै दिएन। पछिल्ला दिनमा मन्त्रीमाथि मन्त्रालयमै हमला हुने देखि प्रधानमन्त्री माथि सार्वजनिक कार्यक्रममा नाराबाजी हुने गरेको छ। त्यसैको चस्का प्रधानमन्त्रीमा समेत परेको लख काटिएको छ। 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्