सोसल मिडिया
युनिकोड
विपक्षी दलहरूले संसद बैठक बोलाउन सरकारलाई आह्वान गरेको छ। तत्काल संसद बैठक नबोलाइए विशेष अधिवेशन बोलाउने प्रक्रियाको थालनी गर्न बाध्य हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।
उनले संसद छलेर अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि नसच्याए कडा संघर्षमा उत्रिने चेतावनी दिए।
'संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ। सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ। तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौं । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा संघर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौं,' वक्तव्यमा भनिएको छ।