गृह जिल्लामै कुटिए कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापा, आँखामा गम्भीर चोट

शनिबार, माघ ५, २०८१

नेपाली कांग्रेस कोशी प्रदेशका सभापति समेत रहेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा सांघातिक आक्रमण भएको छ। कोशी प्रदेशमा दुई पटक मुख्यमन्त्री भएका थापा आफ्नै गृह जिल्ला झापामा कुटिएका हुन्। 

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो।

बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ज १८७० मा सवार एक समूहले आक्रमण गरेको बताइएको छ।

कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन्। उनको आँखा सुन्निएको बताइएको छ। उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ।

विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ । प्राधिकरणको गाडीका चालकले आफूमाथि आक्रमण गरेको थापाको भनाइ छ। ‘आफ्नो पिएसओले सबै कुरा बताउँदाबताउँदै त को भिआईपी होस् ओभरटेक गर्ने आगो नियन्त्रण का लागि हामी हिँडेका हौं’ भनेर आक्रमण गरेको उनले सुनाए। कुटपिटबाट देब्रे आँखामा चोट लागेको हो।

थापा माथि हमला गर्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्