सोसल मिडिया
युनिकोड
संसदका समितिमा अल्झिएका विधेयकलाई अन्तिम रुप दिन सभामुख देवराज घिमिरेले तातो लगाएपछि संसदीय समितिहरू सक्रिय बनेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठक माघ १८ गते संघीय संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने निर्णय गरिसकेको छ। संसदलाई बिजनेश दिन सरकार पनि सक्रिय भएको छ।
संसदीय समितिमा विभिन्न विधेयकका उपर छलफल चलिरहेकै छ। त्यसै मध्येको जलस्रोत विधेयक, २०८१ उपर पनि प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले छलफल चलाईरहेकै छ। तत्कालिन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले २०८१ जेठ ३१ गते समितिमा दर्ता गरेको सो विधेयकमाथि दफा-दफामा छलफल भएको छ।
अघिल्ला मन्त्रीले संसदमा दर्ता गरेको विधेयक माथि अहिलेका मन्त्रीले आफ्नै होटलमा दुई दिनदेखि छलफल चलाएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले हिजो सोमबारदेखि आज मंगलबारसम्म बुढानिलकण्ठमा विधेयकका अन्तरबस्तुमाथि छलफल गर्ने चाँजोपाँजो मिलाईदिएका हुन्।
पूर्वाधार विकास समितिको आयोजना र उर्जा मन्त्रालयको सहयोगमा होलिडे इन रिसोर्ट बुढानिलकण्ठमा दुई दिन र एक रात बसेरै विधेयकको अंग पुर्याउने काम भईरहेको छ। समितिका २५ माननीय मध्ये बीस जना र उर्जा मन्त्रालयका केही कर्मचारी सहित समितिका कर्मचारी र अन्य समेत गरि पाँच दर्जन हाराहारीले पाँच तारे होटलमा राती विताएर जलश्रोत कानून बनाई रहेका छन्।
सोमबार ११ बजेदेखि चलेको जलश्रोत विधेयक पुराणमा उर्जा राज्यमन्त्री पूर्णबहादुर तामांगले सहभागिता जनाए भने आज मन्त्री खड्का सहित मन्त्रालयका दुई सचिवले कुरा गर्ने भएका छन्। त्यस्तै कार्यपत्र प्रस्तुत गर्ने काम पनि आजै हुने बुझिएको छ।
मन्त्री खड्काको लगानीको सो होटलको उद्घाटनमा सिंगो राज्य नै संलग्न भएको थियो। प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको सो होटलमा आवाशीय रूपमा चलाईएको जलश्रोत विधयेकले फाईदा क-कसलाई पुर्याउने हो त्यो भने भविष्यले नै बताउला। उर्जा मन्त्री संलग्न मन्त्रालयले तयार पारेको विधयेकको मन्त्रीकै होटलमा छलफल चलाएको भन्दै समितिका केही सदस्य नाखुस छन्। कांग्रेसका एक सांसद उक्त कार्यक्रममा सहभागी भए पनि त्यहाँ नबसेरै घरै फर्किएका थिए।
मन्त्रालयले खर्च व्यहोर्ने गरि उक्त कार्यक्रम आयोजना गरिएको हो। मन्त्रीले आफ्नै मन्त्रालयको बिजनेस आफ्नै होटलमा पुर्याएपछि जुन जोगी आए पनि कानै चिरेका भन्ने भाष्यलाई थप मलजल पुर्याएको त छ नै मन्त्रीको नियत माथि शंका गर्ने ठाउँ समेत जन्माएको छ।