काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृत बिहिन,सामान्यले बालेनलाई टेरेन 

बुधबार, माघ ९, २०८१

देशकै ठूलो महानगर काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाजमा गम्भीर असर परेको छ। महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको एक महिना पुग्दा पनि अझैँ टुंगो लाग्न सकेको छैन। र सामान्य प्रशासन मन्त्रालयले पनि तत्कालै कसैलाई नपठाउने भएको छ। 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नियमविपरीत काठमाडौं भ्यू टावरको नक्सा पास गरेको भन्दै महानगरले उनलाई पुस ५ गतेदेखि बिदामा बसेर छानबिनमा सघाउन भनेको छ।

यससँगै गुरागाईं बिदामा छन्। प्रमुख प्रशासकीय अधिकृत नभएपछि महानगरको नियमित कामकाज प्रभावित बनेको छ।

काम रोकिएपछि काठमाडौं महानगरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २४ पुसमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गर्दै पत्र पठाएको थियो।

महानगरले अनुरोध गरे पनि मन्त्रालयले भने तत्काल नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिने जनाएको छ। सरोज गुरागाईंको दरबन्दी रहेको र नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउँदा दरबन्दी खाली हुनुपर्नेमा त्यस्तो नभएकाले नयाँ व्यक्ति पठाउन नसकिने मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले बताए।

काठमाडौं महानगरमा अहिले गोविन्द शर्मा निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएका छन्। तर उनले पनि राजीनामा दिएका छन्। यो भए संगै देशै ठूलो महानगरका दैनिक कामकाज ठप्प जस्तै छ। 
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्