सोसल मिडिया
युनिकोड
वामपन्थी नेता वामदेव गौतम अलिदिन यतादेखि चर्चामा छन्। गौतम चर्चामा मात्र नआएर यतिबेला थप आलोचित बनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आश्वासन पाएर नेकपा एकीकृत समाजवादीलाई धोका दिएको आरोप उनीमाथि लागेको हो। समाजवादीमा प्रवेश गर्ने लगभग निश्चित भएका वामदेव एकाएक एमाले प्रवेश गर्न तयार भएका छन्। एमाले अध्यक्ष ओली भने वामदेवलाई तत्काल कुनै जिम्मेवारी दिन सहमत भएका छैनन्। त्यसैले वामदेवलाई पूर्वपार्टी नेकपा एमालेले पेन्डुलम बनाउन खोजेको छ।
हुन पनि गौतम अस्ति सम्म एमालेले आफूलाई भैसेपाटी ईन्चार्ज समेत नदिएको भनेर ओलीको आलोचना गर्दै आएका थिए। गत पुस १७ मा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा पुगेर भनेका थिए, ‘अब म र माधव नेपाल एक हुने भयौँ।’ नेपालसँग छलफल गरेर बाहिर निस्किँदा वामदेवले समाजवादी प्रवेश गर्ने ‘अन्तिम तयारी’ मा रहेको बताएका थिए। उनी पुस १५ गते समाजवादीको कार्यालय पुगेका थिए। बारम्बार छलफल गर्दै वामदेव समाजवादीमा प्रवेश गर्ने निश्चित भएको थियो। उनका लागि समाजवादीले वरीयतादेखि पदीय जिम्मेवारीसमेत टुंग्याएको थियो।
तर,सात दिनयता वामदेव एमाले प्रवेश गर्ने तयारीमा पुगेका छन्। वामदेवले भनेका छन्, ‘अब एमालेमा जाने भइयो।’ गौतमले एमाले अध्यक्ष ओलीसहितका नेताहरूसँग दुई चरणमा भेट भएर कुरा गरिसकेका छन्। उनी कहिले एमाले प्रवेश गर्छन् टुंगो छैन। न त उनले पाउने पदकै ग्यारेन्टी छ।
पछिल्लो एक साताको अदलबदलले वामदेवको ‘ढुलमुले स्वभाव’ देखाउँछ। उनीसँग सहकार्य गरेका नेताहरूका अनुसार उनमा अस्थिर स्वभाव र बदलिने बोली छ। एक महिनाअघि समाजवादी प्रवेश गर्ने तम्तयार रहेका वामदेव अहिले एमालेसँग नजिक छन्। उनले भनेजस्तो सजिलो एमाले प्रवेश देखिँदैन।
एमालेका केही नेताहरू तत्काल वामदेव एमाले प्रवेश गर्ने बताइरहेका छन्। वामदेवले पनि एमाले प्रवेश गर्ने प्रक्रिया पूरा भएको बताउन छाडेका छैनन्। एमालेको सचिवालय बैठकले मंगलबार वामदेवको प्रवेशको निर्णय गरेन। बैठकले वामदेवको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्ने मात्र भनेको छ।
वामदेवबारे एमालेले आधिकारिक रूपमा बोले पनि ‘औपचारिकता’ को भाषा मात्र सुनिन्छ। किनभने सहकार्य कसरी अघि बढ्ने भन्ने विषय खुलाइएको छैन। त्यसो त पार्टी एकताका लागि वार्ता कमिटी/कार्यदल बनाउने प्रचलन छ। सचिवालयले भने कार्यदल गठन गरेको छैन।
एमाले उपाध्यक्ष युवराज ज्ञवाली वामदेवलाई एमालेमा तत्काल प्रवेश गराउने विषयमा छलफल भएको बताउँछन्। ‘उहाँ (वामदेव) लाई प्रवेश गराउने छलफल भएको हो। तर पद के दिने भन्ने अन्योल भयो,’ ज्ञवाली भन्छन्, ‘अहिले प्रवेश गराउँदा पेन्डुलम बनाएजस्तो देखिने भएकाले सहकार्य गर्दै जाने निर्णय भएको हो।’
उनका अनुसार अब वामदेवको पार्टीसँग बिस्तारै छलफल हुँदै जान्छ। ‘हतार गरेर हुँदैन। उहाँ (वामदेव) लाई तत्काल ल्याए पनि फेरि जिम्मेवारी नपाउँदा समस्या पर्न जान्छ। त्यसो नगर्न खोजेको हो’, ज्ञवाली भन्छन्।
एमाले अध्यक्ष ओली वामदेवप्रति सकारात्मक थिएनन्। वामदेवले विगतबाटै एमाले गर्न चाहेका थिए। ‘मलाई एमालेले प्रवेशमा रोक लगाएको छ। महासचिव (शंकर पोखरेल) ले प्रवेश नदिने भन्नुभएको छ रे’, वामदेवले केही समयअघि भनेका थिए।
अहिले ओली एकाएक लचक बनेका छन्। यो समयमा ओली लचक बनेका छन्, जुन बेला वामदेव समाजवादी प्रवेश गर्ने तयारीमा थिए। कतिपयले वामदेवको समाजवादी प्रवेश गर्ने बुझेर ओलीले नै खेलेको बताइरहेका छन्। यता एमालेको निर्णय हेर्दा पनि त्यस्तै देखिन्छ।