सोसल मिडिया
युनिकोड
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा निमित्त भइ कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ।
मन्त्रालयको निर्णयसँगै देशभरका १३ स्थानीय तहमा आर्थिक र प्रशासनिक अधिकार लिएर निमित्त बनेकाहको जिम्मेवारी रद्द भएको छ। यस अघि पनि निमित्त दिएर खेलोमेलो चलाउने धन्दा रोक्न खोजिएको थियो। माओवादी केन्द्रका सांसद अमनलाल मोदी सामान्य मन्त्री भएका वखत निमित्त हटाउने अभियान चलाए। तर, उनी आफैं मन्त्रीबाट हटाईएका थिए।
मन्त्रीस्तरीय निर्णय बिहीबारबाट कार्यान्वयनमा ल्याइएको सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिए। धनुषा, सप्तरी, सिरहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका नगरपालिका र गाउँपालिकामा झण्डै ८ महिनादेखि निमित्तकै भरमा कामकाज भइरहेको थियो।
पदीय दुरुपयोग हुन थालेपछि त्यसलाई रोक्न यस्तो निर्णय गरिएको मन्त्री गुप्ताले बताए। ‘हामीले देशभरका १३ जना निमित्तलाई हटाएका छौँ,’ उनले भने, ‘यसअघिका मन्त्रीले राख्न दिएकालाई हामी मन्त्रालयमा आएलगत्तै एउटा नीतिगत निर्णय गरेका थियौं। सकभर निमित्त नदिने, दिनै परे सिनियरलाई दिने।’
उनले थपे, ‘के चलन चलाएछन् भने सिनियरबाट म चलाउन सक्दिन भनेर लेखाइदिने, अनि सिनियरभन्दा ६/७ जना तलको कर्मचारीलाई दिने गर्दा रहेछन्। त्यो चलन आजबाट हटायौं।’
हुन पनि राजनीतिक दबाबका कारण निमित्त तोकिने काम मन्त्रीकै आदेशमा हुने गरेको थियो। सामान्यको पछिल्लो कदमले सुशासनमा केही टेवा पुग्ने अपेक्षा गरिएको छ।