सर्वोच्चको आदेशले २० हजार मेगावाट यता न उता, परियोजना बन्द हुने बढ्यो जोखिम

सोमबार, माघ १४, २०८१

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सर्वोच्च अदालतको फैसलाले करिब २० हजार मेगावाट निर्माणाधीन जलविद्युत् परियोजना बन्द हुने अवस्थामा पुगेको बताएका छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित प्रावधानलाई सर्वोच्चको फैसलाले खारेज गरिदिएपछि आफूहरुको लगानी जोखिममा परेको उनले बताए । सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको भावनासँग बाझिएको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित प्रावधान खारेज गरेको थियो । सर्वोच्चको यस्तो फैसलाले राष्ट्रिय निकुञ्जमा विकास निर्माणका आयोजना सञ्चालनमा रोक लगाएको छ ।

सर्वोच्चको संवैधानिक इजलासको उक्त फैसलाले लगानीकर्ताहरु संकटमा परेको उनले बताए । ‘यत्रो ठूलो लगानीलाई एकैचोटी सिध्याउने निर्णयले साँच्चै नै हामी निराश छौं । सम्मानित सर्वोच्च अदालतले यसलाई पुनर्विचार गर्नुपर्छ । यसको पूर्णपाठ आउँदा केही विचार गरिनुपर्छ भन्ने हाम्रो कुरा हो । सरकार एकतिर हिड्ने, सांसद एकातिर र न्यायलय अर्कोतिर हिँड्ने हो भने विकास कहाँ पुग्छ भन्ने कुरा पनि सोचिदिनुपर्छ । विकास हामीलाई चाहिन्छ, समृद्ध हुनुछ हामीलाई,’– अध्यक्ष कार्कीले भने ।

सरकारले जनतालाई लगानी गर भन्ने र न्यायलयले खुट्टा बाँध्यने कार्य गरेको खण्डमा देशको विकास अगाडि बढ्न नसक्ने उनले बताए । सरकारले उर्जा विकास मार्ग चित्र–२०८१ सार्वजनिक गरिसकेको अवस्थामा सर्वोच्चको फैसलाले सबै विकास ठप्प हुने अवस्था सिर्जना भएको अध्यक्ष कार्कीले बताए । तुरुन्त सरकारले निर्णय नगर्ने हो भने उर्जा लगानीकर्ता र परियोजनाहरु अल्मलिने अवस्था सिर्जना भएको अध्यक्ष कार्कीले बताए । सरकारले यस विषयमा सहजीकरण गरेर निकास खोजिदिनुपर्ने उनले बताए । सरकारले यस विषयमा गम्भीर भएर सोच्न आवस्यक रहेको उनले बताए ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा थपिएको दफा ५ (क) र ६ (१क) खारेज गरेको थियो । प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र डा. मनोज कुमार शर्माको बहुमतले ऐनको सो दफा खारेज गरिएको थियो । न्यायाधीश सपना प्रधान मल्लले भने फरक दृष्टिकोणसहित समर्थन गरेकी थिइन् । अर्का न्यायाधीश हरि फुँयालले कानुन खारेज गर्न आवश्यक नरहेको भनी फरक मत राखेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्