सोसल मिडिया
युनिकोड
सरकारले प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रव्यापीरुपमा विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कूलर गरी राष्ट्रव्यापी रुपमा शहीद दिवस मनाउने निर्णय गरेको हो।
प्रधानमन्त्रीसहित मन्त्रीहरु शहिद गेटमा जाने र त्यसपश्चात सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
माघ १६ गते प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोली शहिद गेट पश्चात सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसैगरी दिउँसो भृकुटीमण्डप वा अन्य खुला स्थानमा शहीद दिवसको अवसरमा कार्यक्रम गर्ने मन्त्री गुरुङले बताए।
यसैगरी संसदमा सरकारले ल्याएका अध्यादेश पेश गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने गुरुङले बताए।
वि.सं २०१२ सालदेखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो। माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ काठमाडौं महानगरपालिकाले सहिद सप्ताह मनाइरहेको छ।
स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।