सोसल मिडिया
युनिकोड
माओवादी केन्द्रलगायत संसदका विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।
बिहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले शुक्रबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशविरूद्ध उभिने निर्णय गरेको हो।
‘सरकारले सदन बोलाउने बेलामा ल्याएको अध्यादेश प्रक्रियागत हिसाबले नै गलत छ । संसदको अर्थ समितिमै छलफल भएको विधेयकलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ,’ माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘यो गलत छ भन्नेमा सबै विपक्षी दलहरूको निष्कर्ष छ । संसदबाट यसलाई अस्वीकार गर्ने हाम्रो निर्णय भएको छ ।’
साथै, राष्ट्रियता, जनजीविका र बढ्दो महँगी नियन्त्रणमा सरकारले बेवास्ता गरेको भन्दै विपक्षीहरू दलहरूले संसदमा सशक्त आवाज उठाउने निर्णय समेत गरेका छन् ।
शुक्रबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बोलाइएको विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘, राष्ट्रिय स्वत्नत्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरूको सहभागिता थियो।