सोसल मिडिया
युनिकोड
काठमाडौं महानगर यातायात प्रा.लि. को अध्यक्षमा सन्तोष खतिवडा निर्विरोध अध्यक्ष चयन भएका छन्। तेस्रो अधिवेशनले खतिवडालाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।
तेस्रो अधिवेशन तथा नवौं साधारणसभाबाट खतिवडाको नेतृत्वमा निवर्तमान अध्यक्ष मधुसूदन उपाध्याय अधिकारी, व्यवसायी अच्युतप्रसाद अधिकारी, धर्मराज रिमाल, हरिप्रसाद रिमाल, केशव नेपाल र मीरा शर्मा सञ्चालक सदस्यमा चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष खतिवडाले महानगर यातायातलाई चिरपरिचित ब्रान्ड बनाउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीलाई अझ मजबुत बनाउने बताएका छन्। साथै, उनले महानगर यातायात प्रा. लि.लाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्त्वपूर्ण निर्णयसहित आफूलाई नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा धन्यवाद व्यक्त गरे।
महानगर यातायात निजी सार्वजनिक यातायातको अग्रणी कम्पनी हो, जसलाई नौ वर्षअघि व्यवसायीहरूले स्थापना गरेका थिए। हाल कम्पनीका ८९ वटा बस सञ्चालनमा रहेका छन्।
काठमाडौंको चक्रपथ क्षेत्रमा सेवा दिँदै आएको यस यातायातले केही दिनअघि मात्रै थानकोटदेखि धुलिखेलसम्म सेवा विस्तार गरेको छ। सार्वजनिक यात्रुप्रदायक सेवा प्रवाहमा महानगर यातायात अग्रणी स्थानमा छ।