ज्यादा जान्ने हुँदा बालेनकै बाँधियो हातखुट्टा, सामान्यले किन दिएन भाउ ?

शुक्रबार, माघ १८, २०८१

देशकै ठुलो र राजधानीमा अवस्थित काठमाडौँ महानगरको हालत खराब भएको छ। महानगर आफैं आफ्नै कारणले च्याँखेमा परेको छ।  त्यो च्याँखे अरू कसैले नथापेर स्वयम् त्यहाँकै मेयर बालेन साहले थापेका हुन्। 

महानगर अहिले बेखर्ची भएको छ। उसको चालू खातामा पुगनपुग चार हजार बाँकी छ। महानगरमा पैसा नै भने नभएको भने होइन। तर खाता संचालन गर्ने अख्तियार प्राप्त व्यक्ति नहुनाले भद्रगोल भएको हो। मेयर आफैंलाई आर्थिक अधिकार छैन। आर्थिक अधिकार पाएका महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिदामा रहेका कारण महानगरको आर्थिक गतिविधि ठप्प छ । 

मेयर आफैंले गरेको निर्णय कार्यन्वयन गर्दा मेयर शाहले गुरागाईंलाई छानबिनका नाममा तनाब दिएका छन्। प्रक्रिया नै नपुर्‍याइ काठमाडौं टावरको नक्सा पास गरेको भन्दै गुरागाईंमाथि छानबिन समिति बनाएपछि गुरागाईं बिदामा छन् ।तर छानबिन समितिले अहिले सम्म यसै भनेको छैन। 

अस्ति पुस २४ गते महानगरका मेयर बालेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक पत्र लेख्दै अर्को प्रमुख प्रशाकीय अधिकृत खटाइ दिन अनुरोध गरेका थिए । त्यसयता महानगरले विभिन्न विभागीय प्रमुखलाई निमित्तको जिम्मेवारी दिएको छ ।

महानगरमा  प्रमुख प्रशासकीय अधिकृत नै नभएका कारण आर्थिक गतिविधि ठप्प भएको हो । निमित्तलाई सामान्य मन्त्रालयले आर्थिक अधिकार दिएको छैन। बालेनले निमित्तलाई आर्थिक अधिकार दिन मन्त्रालयलाई भनिरहेकै छ।  तर, मन्त्रालय न अधिकार दिने पक्षमा छ न त नयाँ कार्यकारी नै पठाउने पक्षमा छ।  दुवै काम नहुने भएपछी बालेन झन् अफ्ठेरोमा परेका छन्। 

बालेनले गुरागाईंमाथि छानबिन थालेको ४५ दिन भइसकेको छ ।

कानुनी व्यवस्थाअनुसार संघीय सञ्चित कोषको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुन्छ । कोही निमित्त प्रमुख प्रशासकीय प्रमुख बने ऊसँग अन्य अधिकार हुन्छ तर सञ्चित कोष सञ्चालन गर्न भने पाउँदैन ।

यसकारण महानगरको आम्दानी सञ्चित कोषमा जम्मा हुन्छ । तर, खर्च भने सञ्चित कोषबाट हुँदैन । खर्च गर्नका लागि सञ्चित कोषको रकम खर्च कोषमा ट्रान्स्फर गर्नु पर्ने हुन्छ । प्रमुख प्रशासकीय अधिकृत नै नभए पनि सञ्चित कोषमा १४ अर्ब रुपैयाँ भए तापनि खर्च कोषमा ट्रास्न्फर गर्न सकिएको छैन ।

महानगर स्रोतका अनुसार चालु खर्च खातामा ४ हजार रुपैयाँ मात्र छ । यसैगरी पुँजीगत खर्च खातामा १५ करोड रुपैयाँ छ । तर, चालु प्रकृतिको खर्चमा पुँजीगत खर्च खाताबाट रकम निकाशा गर्न मिल्दैन ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्