सोसल मिडिया
युनिकोड
संघीय संसदको हिउँदे अधिवेशनको आजदेखि सुरु हुँदैछ । हिउँदे अधिवेशनको पहिलो दिनको बैठक नै विपक्षी दलहरुले अवरोध गर्ने तयारी गरेका छन् । सरकारले आज हिउँदे अधिवेशनको पहिलो बैठकमा विभिन्न ६ अध्यादेश पेश गर्दैछ । तर, विपक्षी दलहरु अध्यादेश अस्वीकार गर्दै प्रतिवाद गर्ने तयारी गलेका छन् ।
संसदको आजको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्दैछन् । नेताहरु सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका सांसदहरु विरोधमा उत्रिने तयारीमा रहेका छन् ।
आजको बैठकमा हालै सरकारको सिफारिसमा राष्ट्रपति पारित सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुने आजको कार्यसूची छ ।
त्यस्तै, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि आजको कार्यसूचीमा चढाइएको छ ।
अध्यादेश विवादका बीच सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) दिउँसाे १ बजेबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।
यसैबीच आजको बैठकका लागि प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिले कार्यसूची निर्धारण गरिसकेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले निर्धारण गरेको सम्भावित कार्यसूचीअनुसार पहिलो दिन नै सरकारले ल्याएका ६ वटा अध्यादेश पेस हुनेछन् ।
बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस हुनेछन् ।
यस्तै ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पनि प्रतिनिधिसभामा पेस हुने संसद् सचिवालयले जनाएको छ ।
बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनीतिक दलका शीर्ष नेताहरूले पनि सम्बोधन गर्ने कार्यसूची छ । नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको चर्को विरोध गर्ने भएका छन् ।
यता, सरकार साझेदार प्रमुख दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले भने आफ्ना सांसदहरूलाई अध्यादेशका पक्षमा एकढिक्का भएर लाग्न निर्देशन दिइसकेका छन् ।
आजपछि २२, २३, २४, २८, २९ र ३० गते पनि प्रतिनिधिसभाका बैठक बस्नेछ । पछिल्लो समय संसद्ले आफै क्यालेन्डर बनाएर बैठक बस्ने दिन तोक्ने गरेको छ ।
विहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशको विरोधमा संसदमा उत्रने निर्णय गरेको थियो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माघ २ गते अध्यादेश ल्याइएको र माघ १८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको मनसाय नै ठीक नभएको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएका छन् ।