सोसल मिडिया
युनिकोड
ओली सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने हल्लाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई चिमोठ्नु सम्म चिमोठ्यो। उनले सार्वजनिक रूपमै त्यसको विरोध पनि गरे। हुन पनि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली माधवको पार्टी रित्तो पार्न चाहन्छन्।
तर दल विभाजन सम्बन्धि अध्यादेश नआउदै एकीकृत समाजवादीमा दिनहुँ पहिरो जाने र ढिस्को खस्ने काम भने भएकै छ। एमालेमा मात्र नभएर माओवादीमा समेत सो पार्टीका नेता कार्यकर्ता प्रवेश गर्न थालेका छन्। माधवका मित्र प्रचण्डले नै उनका कार्यकर्ता माओवादीमा प्रवेश गराउन थालेपछि माधव नेपालको मन अमिलिन थालेको छ।
नेपाल नेतृत्वको एकीकृत समाजवादीका वागमती प्रदेश सदस्य कृष्णराज न्यौपाने ‘लभ्ली’लाई प्रचण्डले हिजै मात्र माओवादीमा भित्र्याएका छन्।
प्रचण्डको हातबाट अबीरको टीको र सयपत्री फूलको माला लगाएर माओवादीमा प्रवेश गरेका न्यौपाने एकीकृत समाजवादी पार्टीबाट दुईपटक चितवनको कार्यवाहक अध्यक्षसमेत भइसकेका नेता हुन् ।
न्यौपानेसँगै चितवनकै अर्का नेता अरुण भण्डारी र अन्य केही कार्यकर्ताहरु पनि एकीकृत समाजवादी छाडेर माओवादीमा प्रवेश गरेका छन् ।
एकातर्फ माधव नेपालको पार्टीसँग प्रचण्डले ‘समाजवादी मोर्चा’ समेत बनाएका छन् । अर्कोतिर उनकै पार्टीबाट धमाधम नेताहरु आफ्नो दलमा भित्र्याउने रणनीति पनि प्रचण्डले लिएको शनिबारको घटनाले देखाएको छ ।
चितवनमा माधव नेपालको पार्टीलाई धक्का दिएर उत्साहित बनेका प्रचण्डले यो पनि घोषणा गरे कि एकदिन माधव नेपालजीसमेत माओवादीमा आउनुहुनेछ ।
नेकपा एमालेबाट फुटेर ०७८ भदै २ गते स्थापना भएको नेकपा एकीकृत समाजवादी पार्टी संकटमा पर्न लागेको हो त ? होइन भने नेता–कार्यकर्ताहरुले किन धमाधम माधव नेपालको साथ छाड्न थालेका होलान् ? यो प्रश्नको जवाफ भने एकीकृत समाजवादीभित्रैबाट खोज्नुपर्ने हुन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा गत असारमा सम्पन्न दशौँ महाधिवेशनबाट पार्टी अध्यक्ष माधव नेपालमाथि पार्टीभित्रैबाट प्रश्न उठ्न थालेको हो ।
महाधिवेशनमा दोस्रो तहका नेताले महासचिव घनश्याम भुसाललाई अध्यक्षका रुपमा अगाडि सार्न चाहेका थिए । भुसाललाई अर्का नेता झलनाथ खनालको पनि साथ थियो । हुन त नेता खनाल पनि अध्यक्षको दौडमा थिए । तर, भुसाललाई अगाडि सारेर उनी पछि हटेका थिए ।
तथापि महाधिवेशनमा तत्काल अर्काे विकल्प नभएको भन्दै सर्वसम्मतिमै माधव नेपाललाई अध्यक्ष चुनियो । अध्यक्ष मण्डलको नेतृत्वमा रहेका खनालले समेत माधव नेपालकै नाममा सहमति जनाए ।
नेकपा एमालेमा ०७९ को निर्वाचनपछि भूमिकाविहीन बनाइएपछि समाजवादीमा लागेका भुसाल पुनः महासचिव बने । अन्य पदाधिकारी भने सहमति र छलफलमा चुनिने गरी महाधिवेशन टुंगियो । दुई महिनापछि, भदौ १२ गते बाँकी १८ पदाधिकारी चुनिए । जसमध्ये वरिष्ठ उपाध्यक्षमा माधव नेपाल निकट राजेन्द्र पाण्डे सर्वसम्मत छानिए भने बाँकी १७ जना पदाधिकारीको निर्वाचन भयो ।
पदाधिकारीका लागि भएको चुनावमा चर्चित नेता, तत्कालीन सचिव रामकुमारी झाँक्री महिला उपाध्यक्षमा हारिन् । पूर्वउपाध्यक्ष जयन्ती राईले झाँक्रीलाई हराइन् ।
यस्तै, विरोध खतिवडा पनि पदाधिकारीमा हारे । जीवनराम श्रेष्ठ, डा.विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामचन्द्र झा, रामचन्द्र यादव, ललितबहादुर बस्नेत क्षेत्री, साध्यबहादुर भण्डारी, उर्वादत्त पन्त, बलराम सापकोटा, महेश रेग्मी, लक्ष्मण केसी, देउमान सम्वाहाङ्फे, नागेन्द्र चौधरी, अम्बर बहादुर थापा, लक्ष्मण पौडेल, शत्रुघन महतो र हरिप्रसाद पराजुली, निरुदेवी जैरु, वंशीधर मिश्र लगायतका घघडान नेताहरू हारे ।
हारेका नेतालाई विभागको जिम्मेवारी दिने भनिए पनि पार्टी आन्तरिक विवादमा फस्दा नेताहरूको कार्य विभाजन हुन नसकेको आरोप पार्टी अध्यक्ष नेपालले खेप्नुपर्यो ।
नेता नेपाल सत्तामुखी भएका कारण पार्टीको जिम्मेवारीमा नेताहरूलाई नपठाएर आफ्नो दुनो सोझ्याउन लागेको आरोपसमेत कतिपयले लगाए । त्यही बाहनामा जिल्ला तहका केही नेताहरूबाट पार्टी छाड्ने सिलसिला सुरु भयो ।
यही स्थितिमा मंसिर अन्तिम साता पार्टीको स्थायी कमिटी बैठक राखेर हारेका र जितेका सबै नेताहरुलाई जिम्मेवारी दिइयो । तर, त्यो जिम्मेवारी बाँडफाँट बाट समाजवादीका केही नेताहरू झन् असन्तुष्ट बने ।
यसबीचमा एकीकृत समाजवादी र माओवादी केन्द्रवीच पार्टी एकताको पनि चर्चा नचलेको होइन । तर, माओवादीसँग मिल्दा धेरै नेताहरु एमालेमा फर्कने डरका कारण माधव–झलनाथ दुबै नेता तत्काल माओवादीसँग एकता नगर्ने लाइनमा उभिए ।
त्यसो त एकीकृत समाजवादीका केही नेताहरुले एमालेमै फर्कन नखोजेका पनि होइनन् । तर, त्यसो गर्दा सांसद पद नै गुम्ने डरका कारण उनीहरु एमालेमा फर्कन सकेनन् । उता एमालेले पनि ‘माधव नेपालबाहेक अरुलाई लिने’ नीति अगाडि सार्यो ।
अन्ततः पार्टी–संगठन विस्तारले गति नलिने, एमालेसँग पनि एकता नहुने अनि माओवादीसँग पनि नमिल्ने स्थितिमा एकीकृत समाजवादीभित्र आन्तरिक पहिरो जान थालेको देखिन्छ । केही नेता कार्यकर्ताहरु एमालेतिर लाग्ने त केही माओवादीतिर जाने सिलसिला सुरु भएको छ ।
अहिले त एमालेमा जान खुट्टा उचाल्नेको संख्या झन् बढ्दै गएको स्वयम् समाजवादीकै नेता बताउछन्।