माओवादी केन्द्रले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान सुरु गर्ने 

सोमबार, माघ २१, २०८१

नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान सुरु निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्गमा आधारित अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यस्तै पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै विभिन्न प्रदेशका इन्चार्जहरू तोकेको छ । जसअनुसार कोसी प्रदेशको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल, मधेस प्रदेशमा उपमहासचिव मातृका यादव, वाग्मतीमा सचिव हितमान शाक्यलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, गण्डकीमा सचिव दीनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव गिरिराजमणि पोखरेललाई दिइएको प्रवक्ता सापकोटाले बताए ।

यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका अन्तरसमिति प्रदेशमा राम कार्की र प्रवास एसिया प्रदेशको इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिइएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्