पाथीभरामा केबलकार निर्माणको विरोध हिसात्मक बन्दै, रुख ढालेर बाटो अवरोध

मंगलबार, माघ २२, २०८१

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेको समूहले पाँचथरमा रुख ढालेर सडक अवरुद्ध गर्दा सुत्केरी व्यथा लागेर एम्बुलेन्समा अस्पताल गइरहेकी एक महिला बिचल्लीमा परेकी छिन् ।

सडक अवरोधका कारण हिलिहाङ–२ को सिंहपुरदेखि सदरमुकाम फिदिम लाँदै गरेकी १८ वर्षीय कल्पना जोगीसहितका बिरामीको बिचल्ली भएको हो ।

चारवटा रुख ढालेर बाटो अवरुद्व गरिएकाले सोमबार मध्यराति २ बजे सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको एम्बुलेन्स चालक नुपु शेर्पाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनले राखेको भिडिओमा सुत्केरी व्यथा लागेकी महिला चिच्याइरहेको सुन्न सकिन्छ ।

यतिबेला पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा रुख ढालेर सडक अवरोध गरेको छ ।

ती महिलाको अवस्था केही जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसुति गराउन नसकिएको सथानीय स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै पाँचथर प्रहरीले जनाएको छ ।

आज (मङ्गलबार) बिहान प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ । बाटो खुलेपछि बिरामीलाई पुनः फिदिम लैजाने तयारी भइरहेको बताइएको छ ।

माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्दै आएको ‘नो केबलकार समूह’ले आजदेखि अरुण पूर्वका ९ जिल्लामा आमहड्तालको आह्वान गरेको ।

उक्त समूहले सोमबार राति सरकारसँग वार्ता गरेको थियो । सो वार्ता निष्कर्षमा पुग्न नसकेपछि मङ्गलबार पुनः वार्ता हुँदैछ । वार्ता जारी रहँदा पनि आन्दोलनरत पक्षले बन्द जारी राखेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्