सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने

मंगलबार, माघ २२, २०८१

सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ साल जेठ २, ३ र ४ गते काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए । 

बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौँ उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

बैठकले बाल सुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबिच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ । यस्तै सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ भने आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्