चारवटा संसदीय समितिको बैठक बस्दै, बाँदर नियन्त्रणको जुक्ति निकालिने

बुधबार, माघ २३, २०८१

संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । 

अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । 

अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकायसँग छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान ११ बजे बस्नेछ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठक दिउँसो साढे १२ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणा प्रस्तुत र छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्