सोसल मिडिया
युनिकोड
संसदका दुवै सदनबाट अध्यादेश पारित गराउनु पर्ने चटारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओली सक्रियता बढाएका छन्। उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई डाकेर बालुवाटारमा छलफल गरेका छन्।
सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्न निर्णायक बनेको जसपालाई सत्तारुढ दलका नेताहरुले फकाइरहेका छन्। हिजो साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा छलफल गरेका यादव आज एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग छलफलका लागि गएका हुन्।
हिजो देउवा र यादवबीच आधा घण्टा जति कुराकानी भएको थियो। तर, देउवा र यादवबीच के समझदारी भयो, खुलिसकेको छैन। यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हिजै भेटका लागि बालुवाटार बोलाएका थिए।
बिहान १० बजेदेखि नै ओली र यादवबीच वार्ता छलिरहेको स्रोतले जनाएको छ।
सरकारले ल्याएका अध्यादेशलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा जसपाले अझै निर्णय गरिसकेको छैन। त्यसका लागि बिहान साढे ११ बजे जसपाको पनि संसदीय दलको बैठक बस्दै छ।
अध्यादेशबारे अध्ययन गर्न जसपाले राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएको थियो। कार्यदलले गएको मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको छ। त्यो प्रतिवेदन आजको संसदीय दलको बैठकमा पेस गरिने जसपा, नेपालको राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिए। अध्यादेशका पक्षमा उपेन्द्रलाई उभ्याउन सरकारले सकेसम्म प्रयास गरिरहेको छ।