तीन उपप्रधानमन्त्री बनाउनु पर्ने बाध्यतामा ओली, फड्के थापेर उपेन्द्र तर्लान् जँघार ?

शुक्रबार, माघ २५, २०८१

जति बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए ठिक त्यहि बेला जनता समाजवादी पार्टी नेपाल विभाजित भयो। एमाले अध्यक्ष केपी ओली र प्रचण्डले आफ्नो पार्टी फुटाएको भन्दै सो पार्टीका अध्यक्ष उपेन्द्र यादव बटारिए पनि। भलै, उनै प्रचण्डले एउटा सार्वजनिक कार्यक्रममा सत्ता टिकाउन उपेन्द्रको पार्टी फुटाएको साविती बयान नै दिए। त्यसपछि उपेन्द्र प्रचण्ड प्रति उग्र र ओली प्रति केही नरम देखिएका छन्। 

प्रचण्ड र ओलीको संयुक्त साझेदारीमा उपेन्द्रको पार्टी फुटे पनि अहिले तिनै उपेन्द्र सत्ता पक्ष र प्रतिपक्षको तनाईमा छन्। यता उपेन्द्रलाई भने संसदीय गणितले अभूतपूर्व च्याँखे थपाईको अवसर जुराईदिएको छ। त्यसैले उनी उपप्रधान सहित स्वास्थ्य र शहरी विकास मन्त्रालयको माग गरिरहेका छन्। 

उपेन्द्रको प्रतिनिधिसभामा ५ सीट र राष्ट्रियसभामा जम्मा तीन सीट मात्र छ। 

उनै उपेन्द्रले निर्णय नलिएपछि ६ वटा अध्यादेश बिहीबार संसद्मा निर्णयार्थ पेस गरिएनन्। कारण थियो– राष्ट्रियसभामा सत्तापक्षसँग बहुमतको अभाव। अर्थात्, सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अध्यादेशबारे निर्णय दिएन। त्यसैकारण कार्यसूची परिवर्तन गरियो, कार्यसूचीबाट अध्यादेश हटाइए। कांग्रेस र एमालेसँग प्रतिनिधिसभामा स्पष्ट बहुमत छ। 

तर, राष्ट्रियसभामा जसपा अर्थात् पार्टी अध्यक्ष उपेन्द्र यादव निर्णायक छन्। सरकारलाई समर्थन गरे पनि अध्यादेशको विषयमा जसपा नेपालले निर्णय दिएको छैन। उसले अध्यादेशको सम्बन्धमा अध्ययन गरिरहेको भन्दै उसले निर्णय दिएन। सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश संसद्मा पेस भएका छन्। त्यस्तै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि संसद्मा छ। 

सत्तापक्षमा रहे पनि जसपा नेपाल सरकारमा छैन। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशलाई सत्तामा जाने भर्‍याङका रूपमा प्रयोग गर्न खोजेको सत्तापक्षका नेताहरू बताउँछन्। उपप्रधानमन्त्री भइसकेका यादव अध्यादेशलाई अस्त्र बनाएर शक्तिशाली मन्त्रालयसहित सरकारमा सहभागी हुन चाहेको नेताहरू बताउँछन्। 

सत्तामा कुरा मिलेमात्रै अध्यादेशको पक्षमा मतदान गर्ने संकेत जसपा नेपालले दिएको छ। जसपा नेपालले मधेस प्रदेशको मुख्यमन्त्री पनि ताकेको स्रोतको भनाइ छ। साढे ६ वर्ष मधेस प्रदेशको सत्तामा रहेको यादवको पार्टी हाल सत्ताविहीन अवस्थामा छ। मधेस प्रदेशमा हाल जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री छन्। अध्यादेशको विषयमा जसपा नेपालका अध्यक्ष यादवको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि पटकपटक संवाद भएको छ।

२०७९ को निर्वाचनमा प्रतिनिधिसभामा १२ सिट जितेको जसपा नेपाल विभाजन भएको छ। ७ जना सांसद लिएर अशोक राईले जनता समाजवादी पार्टी बनाए। हाल प्रतिनिधिसभामा उपेन्द्र यादवको जसपा नेपालसँग ५ सिटमात्रै छ। सरकारलाई समर्थन गरे पनि रोजेजस्तो मन्त्रालय नपाइने भएपछि यादव सरकारमा छैनन्। तर हाल राष्ट्रियसभामा निर्णायक बनेका छन्। राष्ट्रियसभामा ५९ सिट छ। बहुमतका लागि ३० सांसद चाहिन्छन्। कांग्रेसका १६, एमालेका १०, लोसपा १ गरी अध्यादेशको पक्षमा २७ जना मात्रै सांसद छन्। 

त्यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम र अञ्जान शाक्य सत्तापक्षसँगै छन्। त्यसो गर्दा सत्तापक्षमा २९ सांसद हुन्छ। बहुमतका लागि एक सिट पुग्दैन। जनता समाजवादी पार्टी (जसपा) सँग ३ सांसद छन्। विपक्षमा माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका एक गरी २६ सिट छ। जसपा नेपालको निर्णय नगरे अध्यादेशको भविष्यमा अन्योल हुन्छ। अध्यादेश पारित हुनका लागि दुवै सदनमा बहुमतको आवश्यकता हुन्छ। राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल माओवादी केन्द्रका हुन्। निर्णायक स्थिति आउँदा उनले विपक्षमा मत दिने पक्का जस्तै छ।

उपेन्द्र बिना अध्यादेश पारित हुन् सक्दैन। यो बुझेका उपेन्द्र यहि पटक भ्याए जति लिने अन्तिम दाउमा छन् भने ओली सरकारले तीन उपप्रधानमन्त्री पाउने सम्भावना ज्यादा छ। उपेन्द्र यस अघि नै उपप्रधानमन्त्री भई सकेका व्यक्ति हुन्। 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्