रविमाथिको सरकारी रवैयालाई संसद्‌ले पनि समर्थन गरेको भन्दै रास्वपा रिसायो

शुक्रबार, माघ २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले रवि लामिछानेमाथिको सरकारको रवैयालाई संसद्‌ले पनि समर्थन गरेको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले प्रतिशोध साधेर लामिछानेमाथि रवैया देखाएको आरोप लगाए।

उनले चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिए।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साध्यो साध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महशुस भएको छ। एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ। झुटो मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन्।’

सांसद अर्यालले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न माग गरे।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्