गृहमन्त्री र आईजीपीलाई कठघरामा उभ्याउन सांसदले गरे जोडदार माग 

शुक्रबार, माघ २५, २०८१

नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक, नेपाली प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतमाथि अनुसन्धानको माग गरेका छन् । ज्वाला पूर्व मन्त्री समेत हुन्।

सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र राममाथि गृहमन्त्री लेखकको निर्देशनमा प्रहरीले ज्यादति गरेको भन्दै उनले अनुसन्धान गरी कारबाहीको माग गरेका हुन् । अन्तरजातीय विवाह गरेका नेहा र सत्येन्द्रलाई प्रहरीले भारत पुगेर पक्रेर ल्याएको घटना बाहिरिएको थियो । अदालती विवाह गरेका जोडीविरुद्ध पुनः अर्को अदालतमा मुद्दा दायर भएको थियो ।

उक्त घटनाको बारेमा बोल्दै नेता ज्वालाले भने, ‘उक्त दम्पतीलाई मुम्बइबाट पक्राउ गरेर ल्याएर यातना दिने, यातना दिनका निम्ति, अत्याचार गर्नका निम्ति निर्देशन दिने गृहमन्त्री र आईजीपीलगायतलाई छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्,’– उनले भने ।

साथै, उनले दाङको स्वर्गद्वारी गुठी पीडित किसानहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकार्षण गराए । नेता ज्वालाले सरकार अहिले कानमा तेल हालेर सुतिरहेको टिप्पणी गरे । किसानहरुको आन्दोलनमा आफ्नो दलको पूर्ण समर्थन रहेको पनि उनले बताए । ‘दाङको स्वर्गद्वारी गुठी पीडित किसानहरु अहिले माइतीघर मण्डलामा धर्नामा छन् । चिसोमा कठ्याङ्ग्रिएका छन्, सरकारले कानमा तेल हालेर बसिरहेको छ । उनीहरुको माग सरकारले तुरुन्त सुनोस्, यो आन्दोलनप्रति हाम्रो दलको पूर्ण एैक्यवद्धता छ,’– उनले भने ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्