अध्यादेशले अत्याएपछि एमालेको हंशले छोड्यो ठाउँ, माओवादीलाई माग्यो हारगुहार

आइतबार, माघ २७, २०८१

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूलाई टेलिफोन गरेर अध्यादेशमा सहयोग खोजेको बताएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाको पार्टी अधिवेशनमा शनिबार उनले एमालेले सहयोगका निम्ति आग्रह गरेको जानकारी गराएका हुन् ।

अध्यादेश अस्वीकृत हुने र सरकार छाड्न नैतिक दबाब पर्ने भएपछि एमाले आत्तिएको उनले टिप्णणी गरे । आफूले पोखरेलको प्रस्ताव ठाडै अस्वीकार गरेको उनको भनाइ थियो ।

अध्यादेशअघि सामान्य छलफल समेत गर्न आवश्यक नठानेको एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली नैतिक संकटमा फस्ने भएपछि आफूहरूसामु सहयोगको हात बढाइएको उनको बुझाइ छ । 

“आज मात्रै म पाल्पामा आइपुग्दा एमालेका महासचिव शंकर पोखरेलजीले फोन गरेर अध्यादेशमा सहयोग गर्न भन्दै हुनुहुन्थ्यो,” पुनले भने, “अस्तिसम्म हामीसँग दुईतिहाइ छ भनेर धाक लगाउँदै हिँड्नुभएको थियो । अब दुईदलीय व्यवस्थामा लान्छौँ भन्ने हुँकार गर्नुहुन्थ्यो । अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ ।” 

अध्यादेशबाट शासन गर्न उद्धत भएर आफूहरूलाई ‘बाइपास’ गरेको एमालेले अप्ठ्यारोमा परेपछि सहयोग माग्न थालेको पुनले बताए । मुलुकका समस्या समाधान गर्ने असल नियत भए अध्यादेश फिर्ता लिएर प्रक्रियागत रूपमा विधेयक ल्याउन उनले आग्रह गरे ।

“दुईतिहाइको दुहाई दिने सरकारले अध्यादेबाट शासन गर्न खोजेको छ । संविधान संशोधनको सहमति गर्दा दुईतिहाइ छ भनेर हामीलाई बाइपास गर्न खोज्नुभयो,” उनले भने, “राष्ट्रियसभामा बहुमत नभएपछि अहिले हारगुहार गर्दै हुनुहुन्छ ।” 

वर्तमान सरकारले भ्रष्टाचार, अनयिमितता, राज्य दोहन र तस्करीमा संलग्नलाई संरक्षण गरिरहेको आरोप पनि उनले लगाए ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्