बाबुरामले किन डाकेनन् ठूला पार्टीका नेता ? महाधिवेशनमा को-को पुगे ?

आइतबार, माघ २७, २०८१

सामान्यतयाः नेपाली दलहरूले आफ्नो महाधिवेशन वा सम्मेलन आयोजना गर्दा उद्घाटन सत्रमा अन्य दलका शीर्ष नेतालाई डाँकेर शुभकामना मन्तव्य लिन्छन्। अन्य मञ्चमा जतिसुकै आरोपप्रत्यारोप भएपनि महाधिवेशनको मञ्चमा पुगेर आलोचनात्मक शैलीमा नेताहरूले शुभकामना दिने प्रचलन पनि छ। निकै शत्रुतापूर्ण व्यवहार भएको अवस्थामा भने एकाध अवस्थामा अर्को दल र नेतालाई नडाँक्ने र डाँकेकै अवस्थामा नजाने प्रबृत्ति पनि छ ।  

तर, आइतबारबाट सुरु भएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को महाधिवेशनको दृश्य भने फरक देखिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा ठुला दलका शीर्ष नेता देखिएका छैनन्।  

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका कोही पनि नेता महाधिवेशनको मञ्चमा छैनन्।

बाबुरामले महाधिवेशन गर्दा पुराना दल र नेतालाई नबोलाएको स्रोतले बतायो। पछिल्लो समय वैकल्पिक शक्तिको वकालत गरिरहेका बाबुरामले आफूलाई वैकल्पिक दाबी गर्ने दल र नेतालाई मात्रै डाकेका छन्।  

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी र विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा नयाँ शक्तिको उद्घाटन समारोहमा सहभागी छन्।  

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्