सोसल मिडिया
युनिकोड
ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विपक्षमा रहेकाहरुले आन्दोलनलाई निरन्तरता दिने भएका छन्।
सुनसरीको इटहरीमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा आन्दोलनरत पक्षबाट किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले विगतमा भएका दुई वटा वार्तामा सरकारी पक्ष गम्भीर नभएको बताए।
सरकारी टोली वार्तामा उदासिन भएपछि आफूहरुले पुनः अनिश्चितकालीन बन्द र आमहड्ताल गर्ने घोषणा गरेको उनले बताए।
अध्यक्ष येक्तेनले माघ २२ गते सरकारी वार्ता समितिसँग भएको ६ बुँदे सहमति कार्यान्वयन नहुँदा पुनः आन्दोलन गर्नुपरेको उल्लेख गरे। पत्रकार सम्मेलनमा आन्दोलनरत पक्षले अनिश्चितकालीन बन्द र आमहड्ताललगायत कार्यक्रमहरूको घोषणा गरेको छ।
पत्रकार सम्मेलनमा संघर्षका विभिन्न सात वटा बुँदाको घोषणा गरिएको थियो। जसअनुसार केबलकार निर्माण पक्षधर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल रहेको ग्लोबल आइएमई बैंक बहिष्कार, फागुन ६ देखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा, फुङलिङ नगरपालिका घेराउ, विरोध सभा, अनिश्चितकालीन बन्द हडताललगायतको आन्दोलनलाई अघि बढाउने आन्दोलनरत पक्षले घोषणा गरेको छ।
उनीहरुका अनुसार सरकार वार्ताका लागि इमान्दार नभएको र न्यूनतम वातावरणसमेत बनाउन नसकेको हुँदा आफूहरु आन्दोलनको अवस्थामा पुगेको आन्दोलनरत अन्तर्दलीय राजनीतिक पार्टीअन्तर्गत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले जानकारी दिए।
पत्रकार सम्मेलनका क्रममा मुक्कुमलुङ ताङ्सेः प चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीका पदाधिकारीले सहभागिता जनाएका थिए।