गायिका एलिना चौहानले विवाह गरेको दश महिनामै किन गरिन् सम्बन्धविच्छेद ?

मंगलबार, माघ २९, २०८१

गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् ।

चौहानले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन् ।  सापकोटालाई सम्बोधन गर्दै चौहानले लेखेकी छन्, “आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।”

गत हप्ता चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिइन् । उनले शङ्का-उपशङ्का गरेको र चरित्रमाथि नै प्रश्न उठाएको आरोप लगाएकी थिइन् ।

चौहानले गत वैशाख ५ गते सापकोटासँग विवाह गरेकी थिइन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । एलिनाको स्थायी घर झापा हो ।

चौहानको स्टाटस – 

प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन् ।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन् ।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ । यो रहरले होईन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु ।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।

 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्