छ महिना अघि भित्र्याएकालाई अन्माएर अर्थमन्त्रीले कर्मचारीको किन लिए हुर्मत ?

मंगलबार, माघ २९, २०८१

आठौंपटक मन्त्री र पाँचौंपटक अर्थमन्त्री बनेका उपप्रधानमन्त्री विष्णु पौडेलको पछिल्लो कार्यकाल खासै जमेको छैन। अघिल्ला कार्यकाल पनि औसत भन्दा माथि भने थिएनन्। २०८१ असार ३१ गतेदेखि उनी नेपालको अर्थमन्त्रीमा बहाल भएका हुन्। 

पहिलो पटक ०७२ कात्तिक र दोस्रो पटक ०७७ असोजमा उनी अर्थ मन्त्री बनेको थिए । यस्तै, तेस्रो पटक ०७८ जेठमा, चौथोपकट ०७९ पुसमा उप–प्रधान सहित अर्थमन्त्री बनेको पौडेल यस पटक पनि उपप्रधान सहित अर्थमन्त्री बनेका हुन् ।

पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको १५ दिनमै सचिव फेरे। अर्थसचिव मधुकुमार मरासिनीको ठाउँमा डा. रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाएर भित्र्याए। घिमिरे त्यो बेला अख्तियारमा सचिव थिए।  अहिले उनलाई विस्थापित गर्ने सचिव पनि संयोगले अख्तियारकै घनश्याम उपाध्याय हुन पुगेका छन्। मन्त्री पौडेलले आजै मात्र उपाध्यायलाई भित्र्याएर घिमिरेलाई अन्माएका छन्। 

सचिव परिवर्तन गरेको अर्को १५ दिनपछि दुई महत्त्वपूर्ण विभाग आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकहरू हटाएर क्रमशः रामप्रसाद आचार्य र हरिशरण पुडासैनीलाई नेतृत्व सुम्पिए । तर, सचिव र दुवै महानिर्देशकलाई मन्त्री पौडेलले मन्त्रालय बाटै धपाएका छन्। 

आफैंले रोजी छानी ल्याएका र जिम्मेवारी दिएका सचिव र महानिर्देशक प्रति अर्थमन्त्री किन उदार हुन सकेनन्,त्यो भने उदेक लाग्दो विषय बनेको छ। छ महिनाको छोटो अवधिमै सबैलाई हटाएर अर्थमन्त्रीले अर्थतन्त्रमा हाल्न खोजेको पालुवाका विषयमा अर्थमन्त्रालयमा चर्चा हुन थालेको छ। 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट आफूलाई सहयोग गर्न भनेर ल्याएका अर्का सहसचिव दीर्घराज मैनाली पनि पौडेलको तारो बने। उनलाई योजना आयोगमा धपाईएको छ। एमालेका मन्त्री पौडेलले एमाले निकट सहसचिवलाई नै बढारेका छन् भने कांग्रेस निकटलाई काखी च्यापेका छन्। 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्