संघीय निजामती विधेयक माथि दफावार छलफल, कुन-कुन समिति भए सक्रिय ?

बुधबार, माघ ३०, २०८१

संघीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । 

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा माउन्ट एभरेष्ट ब्रुअरीमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

महिला तथा सामाजिक मामिला समितिमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रमका विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो सवा १२ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । 

बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्