सोसल मिडिया
युनिकोड
मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएपछि हङ्गामा मच्चिएको छ।
धनुषाको विदेह नगरपालिकाका मेयर (प्रमुख) बेचन दासले प्रहरीकै अगाडि प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएको घटना बाहिरिएको हो।
शिक्षा सेवा आयोगबाट सिफारिस भई नियुक्त भएकी निमावि शिक्षिका पवन कुमारीलाई हाजिर गराएपछि मेयर दासका छोरा रामभजन दासले साहमाथि कार्यकक्षमै प्रवेश गरी गाली–गलौज गर्दै कुटपिट गरेका थिए । यसपछि पनि आफूलाई मेयर दासले गोली हान्ने धम्की दिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।
मेयरका छोरा रामभजनले कार्यकक्षमै गाली–गलौज गरी कुटपिट गरेपछि प्रमुख प्रशासकीय अधिकृत साहले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । यसपछि उनलाई मंगलबार मेयर दासले कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्दै गोली हान्ने धम्की दिएका हुन् ।
घटनापछि प्रहरी जवान विकास बस्नेत र विकासकुमार राय तथा वडा नम्बर ७ का अध्यक्ष राजकिशोर सिंह घटनास्थलमा पुगेका थिए । तर प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमै मेयर दासले साहलाई गोली हान्ने धम्की दिएको बताइएको छ ।
मेयरले धम्की दिएपछि आफूले जिल्ला प्रहरी र जिल्ला प्रशासनमा शान्ति सुरक्षा मागेको प्रशासकीय अधिकृत साहले बताए । यस्तै घटनाको जानकारी धनुषाका प्रहरी प्रमुखलाई पनि गराएको उनले बताए ।
साहले यही माघ २ गते विदेह नगरपालिकामा हाजिर भएर कार्यभार सम्हालेका थिए । कार्यालयमा आएदेखि नै धाकधम्की, अपशब्द, गाली–गलौज गर्दै आएको साहले आरोप लगाए ।