लागुऔषध अफिम र गाँजासहित चार जनालाई प्रहरीले समात्यो

बुधबार, माघ ३०, २०८१

मकवानपुर प्रहरीले लागुऔषध अफिम र गाँजासहित चार जनालाई पक्राउ गरेको छ । अफिमसहित दुईजना र गाँजासहित अन्य दुई जनालाई पक्राउ गरिएको हो ।

जिल्लाको राक्सिराङ गाउँपालिका– ५ बोटबारीनजिक हिँडिरहेका दुई युवालाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट दुई किलोग्राम १४० ग्राम अफिम फेला पारेको हो ।

पक्राउ पर्नेमा बाराको कलैया- ४ का दीपक साह र सिम्रौनगढ- ४ का शशी मुखिया रहेका छन् ।

उनीहरूलाई प्लाष्टिकले बेरेर राखेको अफिमसहित इलाका प्रहरी कार्यालय मनहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी सोही स्थानमा तीन केजी २०० ग्राम लागुओषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

मनहरी- ७ का रबिन तामाङ र बलारम थिङलाई बाप्र ३–००५ प ९९२२ नम्बरको मोटरसाइकलमा लुकाइ ल्याएको उक्त गाँजासहित पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्