अध्यादेश पारित गरेरै छोड्ने एमाले महासचिव शंकरको दाबी

शुक्रबार, फागुन २, २०८१

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् ।

शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आईसीटी आधारित उद्यमशिलता : आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले ल्याएको उल्लेख गरे ।

अध्यादेशको विरोध भयो भनेर कोसिस असफल नहुने उनको भनाइ छ । उनले दुई प्रमुख राजनीतिक दलले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरू रहेको बताए । विकल्प प्रयोग गरेर भए पनि अध्यादेशलाई राज्यको कानुनमा ढाल्ने बताए । अध्यादेश आफैँमा कानुन भएको पनि बताए । कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने उल्लेख गरे ।

"अहिले सरकारले जुन हिसावले अध्यादेशका माध्यमबाट यो क्षेत्रलाई सम्बोधन गर्ने कोसिस गरेको छ । अब अध्यादेशको विरोध भयो भन्ने बित्तिकै त्यो कोसिस असफल हुन्छ भन्ने नठान्नुहोला । किनकी त्यो कोसिस प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको काम हो । त्यसअर्थमा हामी त्यसलाई जसरी पनि टुंग्याउँछौँ । कसैले विरोध गर्‍यो भनेर त्यसले रोकिनेवाला छैन । अनेक विकल्पहरू छन् । विकल्प प्रयोग गरेर भए पनि हामी त्यसलाई राज्यको कानुनमा ढालिहाल्छौँ," उनले भने ।

महासचिव पोखरेलले सरकारले आईसीटीबाहेक अरु कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्