बेलुन विस्फोटले घाईते भएका अर्थमन्त्री र मेयरको कस्तो छ पछिल्लो अवस्था ?

शनिबार, फागुन ३, २०८१

पोखरामा बेलुन विस्फोटपछि घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरकै मेयर धनराज आचार्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

दिउँसो साढे ३ बजेदेखि दुवैको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“उहाँहरुको प्रारम्भिक मूल्यांकनअनुसार ५–६ प्रतिशत जलेको तर अनुहार जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ,” अस्पतालले भनेको छ ।

पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उनीहरू  घाइते भएका  थिए ।

पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

दुवै जनाको अहिले कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ । 

अर्थमन्त्रीको हातमा र गालामा बेलुनको छर्रा लागेको र अवस्था सामान्य रहेको अर्थमन्त्रीको सचिवालयले बाह्रखरीलाई जानकारी दियो ।  मेयर आचार्यको गाला र घाँटीमा आगोले पोलेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्