सोसल मिडिया
युनिकोड
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले कुनै पनि बेला संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा रहेको गम्भीर आरोप लगाएका छन् ।
पार्टीको भोजपुरको अरुण गाउँपालिकाको दोश्रो अधिवेशनको आज (शनिबार) उद्घाटन गर्दै पुनले प्रधानमन्त्री ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको बताए। पुनले प्रमुख सत्तारुढ घटक कांग्रेस नेताहरुलाई ओलीको सम्भावित अलोकतान्त्रिक कदमप्रति सचेत हुनपनि आग्रह गरे ।
उनले आफूले त्यतिबेला गरेको संसद् विघटन सही थियो भन्ने पुष्टि गर्ने प्रयास ओलीबाट हुने दाबी गरे । त्यसैको पूर्वअभ्यासका रुपमा ओलीले अध्यादेशबाट शासन चलाउने प्रयास गरिरहेको टिप्पणी पुनको छ ।
पुनले भने,‘ओलीजीलाई लोकतान्त्रिक प्रणाली र संसदजस्ता लोकतान्त्रिक संस्थाहरु मन पर्दैन, विगतमा गरेको संसद् विघटनलाई हामीले सडकबाट असफल पारेका थियौं । उहाँको मनमा अहिले पनि आफ्नो पुरानो कदम सही पुष्टि गर्नुपर्छ भन्ने सोच छ । यसमा सचेत रहन म कांग्रेस नेताहरुलाई आग्रह गर्न चाहन्छु । उहाँले फेरि संसद् विघटन गरेर मुलुकलाई मध्यावधिमा धकेल्ने दुस्साहस गर्नुहुनेछ, यसमा रचेत रहनुस् ।’