सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङको पाथीभरामा सरकारले बल प्रयोग गरे दुर्भाग्य हुने बताएका छन्। शनिबार नेकपा माओवादी केन्द्र दमकको दोस्रो नगर अधिवेशन तथा खबरदारीसभामा बोल्दै उनले जबर्जस्ती केबलकार बनाए प्रतिकार हुने बताएका हुन्।
‘मैले संसदबाट पनि बोलेको छु। किराँतीहरूको आस्थाको केन्द्र मुक्कुमलुङको समस्याको समाधान सरकारले बल प्रयोग गरेर, प्रहरी लगाएर र गोली हानेर गर्न खोजे दुर्भाग्य हुनेछ,’ उनले भने, ‘यो समस्याको समाधान वार्ता र समाझदारीको मध्यमबाट समाधान खोजिनुपर्छ। सरकारलाई खबरदारी गर्न चाहन्छु। यो ऐतिहासिक र धार्मिकस्थल समझदारीको साथअघि बढाउनको सट्टा जबर्जस्ती बल प्रयोग गरियो भने त्यसको प्रतिरोध हुन्छ। त्यो प्रतिरोधमा हाम्रो साथ रहनेछ।’
अध्यक्ष प्रचण्डले झापाको कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रंगशालालाई नाम परिवर्तन गरेर मदन भण्डारी रंगशाला बनाउन खोजेको भन्दै आपत्ति जनाए। ‘रंगशालामा आदिवासीको संस्कृति र पहिचान झल्काउनुको सट्टा त्यसलाई नाम परिवर्तन गरेर फेरि मदन भण्डारी बनाउन खोज्नु गलत छ। मदन भण्डारी त लोकमार्ग नै छ,’ उनले भने, ‘नाम परिवर्तन गर्न खोजे त्यसविरुद्ध लाग्नुपर्छ। त्यसमा पनि हाम्रो साथ रहनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक पुगेका प्रचण्डले ओलीले संविधानमा स्थापित भएको संघीयता, गणतन्त्र, महिला, आदिवासी, दलित, मधेशी, मुस्लिमको अधिकार मन नपरेको बताए। प्रचण्डले ओलीले अझै पनि प्रतिगमन चाहेको बताए। प्रचण्डले माओवादी कमजोर भए सीमान्तकृतका एजेन्डा पनि कमजोर हुने बताए। उनले विगतमा एमाले(कांग्रेससँग समीकरण गर्दा सीमान्तकृतका मुद्दासँग माओवादीको सम्बन्ध केही धुमिल बनेको बताए। अब यस्तो गल्ती नगर्ने उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले अब एकपटक सुशासनका पक्षमा युद्ध लड्ने बताए। भ्रष्टाचारविरुद्ध युद्ध लड्ने संकल्प गरेको बताए। ‘माओवादी बलियो हुँदा देशमा सुशासन कायम हुन्छ,’ उनले भने। पूर्वले विगतमा पनि सामन्तवादविरुद्ध लडेको बताउँदै उनले अब समाजवादी क्रान्तिको आधार पूर्व हुनुपर्ने धारणा राखे। यसका लागि आफू बारम्बार पूर्व आइरहेको प्रचण्डको भनाइ थियो।