हलेसी बजारमा कसरी फैलियो आगो ? कति भयो क्षति ?

सोमबार, फागुन ५, २०८१

खोटाङको हलेसी बजारमा आइतबार साँझ ७ बजेतिर आगलागी भयो । हलेसी दुवाचुङ नगरपालिका–७, हलेसीबजारमा आगलागी हुँदा स्थानीय पदम राईको घर जलेर पूर्ण रूपमा क्षति भयो ।

हार्डवेयरसँगै ग्यास पसल राखेका पदमको घरबाट  सुरु भएकाे आगो ले अन्य घरमा समेत क्षति गरेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए ।

"हलेसी बजारस्थित पदम राईको हार्डवेयरसँगै ग्यास पसल भएको घरबाट आगलागी सुरु भएको हो," प्रहरी निरीक्षक राईले भने, "खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको थियो । प्रहरी र स्थानीय मिलेर आगो निभाएका हौँ ।"

आगलागी नियन्त्रणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय जुटेका थिए । आगाे बेलुका करिब साढे १० बजे नियन्त्रणमा आएकाे प्रहरी निरीक्षक राईले जानकारी दिए ।

आगलागीबाट दुईवटा घरमा पूर्णरूपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको छ । पानी अभाव भएका कारण आगो निभाउन ढिलाइ भएको उनको भनाइ थियो । आगलागीबाट स्थानीय ऐराख राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ ।

आगलागी हुँदा घरभित्रबाट निकाल्न नसकेको एक/दुईवटा ग्यास विस्फोट भएको आवाज आएको प्रहरी निरीक्षक गिरीले बाह्रखरीलाई जानकारी दिए । "करिब २०० ग्यास बाहिर निकालेर सुरक्षित स्थानमा लगेका छौँ, बाँकी रहेका एक/दुईवटा ग्यास विस्फोट भएको जस्तो आवाज आएको छ," उनले भने ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०५:२७
प्रतिक्रिया दिनुहोस्