सोसल मिडिया
युनिकोड
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । अहिले यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् । जसपा, नेपाल विभाजनपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग उनको दूरी बढेको छ । यादवले आफ्नो दल प्रचण्डले नै फुटाएको सार्वजनिक रुपमै आरोप लगाएका छन् । प्रचण्डले सरकार छोड्नु नत्र बर्खास्त गर्छु भनेपछि उपेन्द्र दबाबमा परेका छन् ।
अशोक राईले ७ जना सांसदसहित जसपा, नेपाल विभाजन गरेर जसपा दर्ता गराएका छन् । राईको दललाई सरकारमा सहभागी गराउनेगरि प्रधानमन्त्री दाहालले छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले राजीनामा नदिए बर्खास्त गर्ने कुरा यादवलाई जानकारी गराएका थिए ।
तर, यादवले भने आफूहरु राजनीतिक अस्थिरताको कारक नबन्ने भन्दै सरकारमै रहने बताउँदै आएका थिए । तर, मधेश प्रदेश सरकारलाई नै अप्ठ्यारो पार्नेगरि प्रधानमन्त्री दाहालले कदम चालेपछि यादवपनि अब सरकारमा अपमानित भएर नबस्ने मुडमा पुगेका छन् । सरकार छोड्नुअघि उनले आजै प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर जानकारी गराएका थिए ।
आजै सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिनेगरि यादवले पार्टीको बैठक डोकेका छन् । प्रधानमन्त्री दाहालले उनको ठाउँमा प्रदीप यादवलाई नियुक्त गर्ने अन्तिम तयारी गरेका छन् । यादवले आज सरकारबाट बाहिरिने निर्णय लिए प्रधानमन्त्री दाहालले भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताईएको छ ।